Logo
Logo

नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र


1.8k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । शुक्रवार दलका नेताहरू निर्वाचन आयोग पुगेर दर्ताको प्रमाणपत्र लिएका हुन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न १० वाम समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका हुन् ।

 फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा कात्तिक ३० गते भित्र रहेको छ । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबिच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् भने सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।

आज मात्रै नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय समितिमा रहेका नेताहरूको नामावली सार्वजनिक गरेको थियो ।  जसमा १३८ सदस्यीय केन्द्रीय समिति रहेको छ । जसमा  संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा। बेदुराम भुसालको नाम छ । नेकपाले केन्द्रीय समितिमा ३३ प्रतिशत महिलालाई समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्