काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जान नहुने बताएका छन् । नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको आत्माबलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताए ।

श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकाङ्क्षालाई रूपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने दाबी गरे । मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभूति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘निर्वाचनमा जानुपर्छ । तर निर्वाचनमा त्यो परिवर्तनको आकाङ्क्षालाई रूपान्तरण गर्न सक्ने गरी जानुपर्छ । त्यो कसरी जाने रु यहाँ स्थानीय जनसहभागिता कति हुने हो ? यो सुरक्षाको जुन चुनौती छ । यो सुरक्षाको चुनौतीले मतदानको प्रवृत्ति बढ्ला कि घट्ला रु वा मतदान होला कि नहोला । यस्तो हो भने झन् पो सम्भावना छैन । के हुन्छ ? राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो । पुलिस भनेको यहाँ बर्दिधारी पुलिस होइन नि । सेक्युरिटी फष्ट । चाहेको सीमाको रक्षा गरौँ, चाहे आन्तरिक धनजनको कुरा गरौैं । सुरक्षा फष्ट । अहिले हाम्रो राज्यको धरातलनै उखेलिएको जस्तो छ । जो जो जहाँ जहाँ हो, त्यो होइन जस्तो छ । मानिदिएको जस्तो मात्रै छ ।’
राज्यले आफ्नो आत्मविश्वास गुमाएको कि गुमाएन ? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन प्रश्न गर्दै उनले भने, मैले भन्ने बित्तिकै पुलिस आएर मेरो सुरक्षा गर्छ भन्ने आत्मविश्वास छ कि छैन ? त्यो छैन भने मानिलिनुस् हाम्रो राज्य कमजोर भएको छ । यो राज्य कमजोर बनाउनु हुँदैन । यो राज्य टिकाउने हो भने, यो देश टिकाउने हो भने यसको सुरक्षालाई बलियो बनाउनु पर्छ । निर्वाचन भन्दा पहिला हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नु पर्छ ।’














