काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्तिले घटनाको जिम्मेवार लिनुपर्ने बताएका हुन् । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताए । उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।
उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्ने खालका सम्झौता गर्न नपाउने जिकिर गरे । अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए ।
उनले कैदीबन्दी र हातहतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको बताए । उनले मुलुकमा देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिएको बताए ।











