
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजीले जेनजी आन्दोलन तुहिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको बताउँदै उनले यस्तै हो भने पुारन जाली फटाहाको शासन फेरी फर्कने बताएका हुन् ।
‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा र यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छ,’ उनले लेखेका छन्, ‘संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ ।’
आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइने भन्दै उनले सामाजिक सञ्जालमार्फत पुरानै पापी भ्रष्टाचारी फेरि निर्वाचित भएर आए अहिलेका राम्रा काम सबै उल्ट्याउने बताए ।
‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ ,’ उनले भनेका छन्, ‘अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उलट्याउँछन ।’











