काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन राष्ट्रलाई संवैधानिक अस्थिरताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताएका छिन् । प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठकमा सम्बोधन गर्दै सबै राजनीतिक दललाई समयमै निर्वाचन प्रक्रियामा सहभागी हुन र संवैधानिक जिम्मेवारी पूरा गर्न आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले युवा आन्दोलन र जनमतको ऐतिहासिक सन्देशका आधारमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणागरिएको भन्दै, यसलाई राष्ट्रलाई संवैधानिक सङ्कटबाट जोगाउने अनिवार्य कदम भएको स्पष्ट पारीन् । उनले भनिन, “निर्वाचनको अनिवार्यतामा हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोज्नेछ ।”
उनले निर्वाचनको निष्पक्षता, मितव्ययिता र सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक सबै तयारी गरेको बताइन् । प्रचार अवधि सीमित गर्ने, सुरक्षाको ‘हट–स्पट’ व्यवस्थापन, संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन र राजनीतिक हिंसा रोकथामका लागि ट्र्याक–टु संवाद पहल भइरहेको उनले जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले दलहरूको विश्वास र सहभागीता बिना चुनाव असम्भव हुने भन्दै, मङ्सिर १० भित्र निर्वाचन आयोगमा दल दर्ता गर्न सबैलाई आग्रह गरीन् । उनले स्पष्ट गरीन् कि राजनीतिक अस्थिरतालाई स्थायी निकास दिन निर्वाचन अपरिहार्य छ र यसमा देशभरका नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सुनिश्चित गरिनेछ ।
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक स्थिरता, जनमतको सम्मान र संवैधानिक दायित्वको पालनाका लागि आगामी निर्वाचन अनिवार्य र राष्ट्रको प्राथमिकता भएको औँल्याइन् ।











