Logo
Logo

दुई प्रहरीविरुद्ध ज्यानमुद्दा दर्ता


- दृष्टि न्युज/संवाददाता



बाग्लुङ, १७ माघ ।

सर्वसाधरणलाई कुटपिट गर्ने दुई प्रहरीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चल्ने भएको छ । ५२ टाँका लगाउनुपर्ने बाग्लुङको हरिचौर गाउँपालिका–६ का सोमबहादुर बस्नेतलाई कुटपिटविरुद्ध मुद्दा दायर हुन लागेको हो ।

४० वर्षीय सोमबहादुरलाई गल्कोट–३ स्थित हटिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले कुटपिट गरेका थिए। मार्ने नियतले प्रहरीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सोमबहादुरकी श्रीमती कृष्णकुमारीले किटानी जाहेरी दिएकी हुन्।

उनले समान्य विवाद हुँदा मरणासन्न हुने गरी प्रहरी जवानद्धयले कुटपिट गरेको र गुहार मागेपछि मात्रै छाडेको भन्दै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको बताइन् । श्रीमतीको जाहेरीपछि प्रहरी जवानद्धयविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान सुरु गरिएको बाग्लुङका डिएसपी दीपक रेग्मीले जानकारी दिए।

गत पुस २९ गते राति ९ बजे चौकीअगाडि उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका सोमबहादुरको शरीरमा ५२ टाँका लगाउनुपरेको छ। पोखराको फेवा सिटी अस्पतालमा उपचाररत उनी डिस्चार्ज भइसकेका छन् । हाल उनको अवस्था सामान्य छ। कुटपिट गर्ने दुई प्रहरी यसअघि नै निलम्बनमा परिसकेको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्