Logo
Logo

नेपालको क्रेडिट रेटिङ सकारात्मक


441
Shares

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था ‘फिट्च रेटिङ्स’ बाट यस वर्ष पनि पुनः ‘बिबी माइनस’ स्कोर प्राप्त गरेको छ । मुलुकको वर्तमान अनिश्चयको अवस्थामा पनि क्रेडिट रेटिङ सकारात्मक आउँदा नेपालमा लगानीका लागि सहज परिस्थिति बन्न पुगेको छ । धेरैलाई अहिले क्रेडिट रेटिङ झन् खस्कने चिन्ता थियो । तर सो चिन्तालाई खारेज गर्दै क्रेडिट रेटिङले फेरि उत्साह प्रदान गरेको छ ।

ऋण तिर्न सक्ने क्षमता, आर्थिक जोखिम, राजनीतिक वातावरण र समग्र वित्तीय व्यवस्थापनको मूल्यांकनपछि दिएको यो स्कोर नेपालले पहिलोपटक पाएको स्कोरकै दोहोरिएको रुप हो । फिट्चको स्कोरिङमा ‘एएए’ सबैभन्दा उच्च स्तर हो भने ‘डी’ न्यूनतम मानिन्छ । यस्तो परिस्थितिमा नेपालको स्कोर स्थिर रहनु अर्थतन्त्र, सुधारक कदम र वित्तीय अनुशासनले दिएको सन्देशको रूपमा अर्थ मन्त्रालयले व्याख्या गरेको छ ।

क्रेडिट रेटिङ भनेको कुनै पनि देशको ऋण तिर्ने योग्यताको जाँच हो । यसले मुलुकको अर्थतन्त्रप्रति निजी क्षेत्रको विश्वसनीयता मापन गर्छ। नेपालले अहिले पाएको स्कोरले नेपालको अर्थतन्त्र स्वस्थ र स्थिर छ भन्ने देखाउँछ। यसले नेपालको वित्तीय स्थिरता झल्काएको छ। निजी लगानीमा सकारात्मक प्रभाव पार्नुका साथै नेपालले बाहिरबाट ऋण लिनुपरेको अवस्थामा पनि फाइदा भएको यसले देखाएको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरू जेनजी आन्दोलनपछिको राजनीतिक अनिश्चितता, आर्थिक उतारचढाव र पूर्वाधार चुनौतीबीच पनि नेपालको वित्तीय साख जोगिनु महत्त्वपूर्ण उपलब्धि भएको बताउँछन् । उनीहरूका अनुसार ‘बिबी माइनस’ स्कोरले नेपालले आफ्नो ऋण भुक्तानी क्षमता कायम राखेको संकेत गर्छ, यद्यपि यसले आर्थिक जोखिमहरू अझै कायम रहेको चेतावनी पनि दिन्छ ।

फिट्चको मूल्यांकन टोली नोभेम्बर ४, ५ र ६ मा काठमाडौं आएको थियो । टोलीले नेपालको पछिल्ला आर्थिक तथ्यांकको गहन अध्ययन गरेको थियो । यसअघि भदौ २३ मा फिट्चको टोली नेपाल आएको थियो । भदौ २४, २५ र २६ मा स्थलगत मूल्यांकन गर्ने कार्यतालिका रहेकोमा जेनजी आन्दोलनसँगै विध्वंश भएपछि फिट्च टोली त्यसै फर्किएको थियो ।

टोलीले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगलगायत प्रमुख सरकारी निकाय तथा विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिहरूसँग छलफल गरेको थियो । निजी क्षेत्रतर्फ नेपाल युनिलिभर, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग पनि विस्तृत संवाद गरिएको थियो ।

यी सबै छलफलमा नेपालले सार्वजनिक ऋणको स्थिति, ऋण भुक्तानी क्षमता, विदेशी मुद्रा सञ्चिति, आर्थिक प्रदर्शन र सुधारका कदमका बारेमा विस्तारले प्रस्तुतीकरण गरेको थियो । प्रस्तुत तथ्यांक र प्राप्त दिशाहरूले फिट्च टोली सन्तुष्ट भएको सरकारी अधिकारीहरूको दाबी छ ।

यसअघि पहिलो पटक गत वर्ष गरिएको सार्वभौम क्रेडिट रेटिङमा पनि नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो । फिट्चले मंगलबार सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार तुलनात्मक रूपमा नेपालको रेटिङ राम्रो भएको देखिएको हो । सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ प्राप्त गरेको हो ।

फिट्च टोलीको प्रमुख चासो भने नेपालको राजनीतिक अनिश्चितता नै थियो । विशेष गरी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समयमै नहुने जोखिमबारे टोलीले बारम्बार प्रश्न गरेको बताइएको छ । नेपालको पक्षबाट निर्वाचनप्रति सरकार, राजनीतिक दल र जेनजी युवाहरूको प्रतिबद्धता कायम रहेको तथा निर्वाचन आयोगले क्यालेन्डर र करिब पाँच अर्ब रुपैयाँको बजेट विनियोजन गरिसकेको जानकारी टोलीलाई दिइएको थियो ।

नेपालले जेनजी आन्दोलनलाई राजनीतिक परिवर्तन नभई सुशासनको क्रान्ति का रूपमा व्याख्या गर्दै यसले पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र रोजगार अवसर सिर्जनाको मागलाई सकारात्मक दबाबको रूपमा अघि सारेको थियो ।

फिट्चले नेपालले भूकम्पपछिको पुनर्निर्माण र कोभिड महामारीजस्ता ठूलो संकटहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता देखाइसकेको उल्लेख गर्दै देशको आर्थिक लचकता उचित रहेको बताएको छ । यद्यपि अर्थ मन्त्रालयका अधिकारीका अनुसार वर्तमान राजनीतिक तथा आर्थिक परिस्थितिमा रेटिङ अपग्रेडको अपेक्षा यथार्थपरक नहुने, तर रेटिङ स्थिर राख्न सक्नुलाई नै ठूलो सफलता मानिन्छ ।

फिट्चले जारी गरेको संक्षिप्त विवरणमा नेपालका कमजोर राजस्व स्थिति, राजनीतिक अस्थिरता र आर्थिक संरचनामा सुधार आवश्यक रहेको स्पष्ट उल्लेख छ । बाह्य क्षेत्रबाट हुने आर्थिक झट्का र प्राकृतिक विपत्तिप्रति नेपाल अझै संवेदनशील रहेको तथा समग्र आर्थिक संरचना कम विकसित अवस्थामा रहेको निष्कर्ष रेटिङमा समेटिएको छ । भदौमा भएको जेनजी आन्दोलन छोटो समयमै शान्त भए पनि राजनीतिक संक्रमण प्रक्रियामा ढिलाइ हुन सक्ने सम्भावना र बहुदलीय संरचनाको विखण्डनले नीतिनिर्माण कमजोर पर्ने जोखिम पनि फिट्चले उठाएको छ ।

फिट्चको अनुमान अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारको घाटा जिडिपीको ३.५ प्रतिशत पुग्नेछ, जुन बिबी श्रेणीको मिडियन ३ प्रतिशतभन्दा अलि माथि हो । आगामी आर्थिक वर्ष २०८३/८४ मा यो घाटा ३.४ प्रतिशत मा झर्ने प्रक्षेपण गरिएको छ भने बिबी मिडियन २.८ प्रतिशतको तुलनामा नेपाल धेरै दूरीमा नरहेको देखिन्छ । तर, संघीय सरकारको ऋण–जिडिपी अनुपात ४६.१५ प्रतिशत रहने प्रक्षेपण बिबी श्रेणीको मिडियन ५४.४५ प्रतिशतभन्दा कम भएकोले रेटिङ स्थिर राख्न सहयोग पुगेको हो ।

नेपालले सहुलियतपूर्ण ब्याजदरमा ऋण पाउँदै आएको, आन्तरिक र बाह्य ऋणभार औसतभन्दा कम रहेको तथा जलविद्युत क्षेत्रको विस्तारले आर्थिक वृद्धिमा सकारात्मक योगदान गर्दै गएको फिट्चको मूल्यांकनमा उल्लेख छ । तर, राजनीतिक अनिश्चितता, कमजोर नीतिगत प्रभावकारिता र संरचनात्मक सुधारको ढिलाइले नेपालको रेटिङमा थप सुधार ल्याउन कठिनाइ भएको प्रष्ट संकेत छ ।

समग्रमा हेर्दा, फिट्चले दिएको ‘बिबी माइनस’ रेटिङले नेपाललाई स्थिर तर जोखिमयुक्त अर्थतन्त्र को रूपमा चित्रण गरेको छ । ऋण तिर्न सक्ने क्षमता राम्रो भए पनि राजस्व सुधार, राजनीतिक स्थिरता र आर्थिक संरचनामा दीर्घकालीन सुधार आवश्यक रहेको निष्कर्ष रेटिङमा झल्किन्छ । आर्थिक तथ्यांकको दिशा सही देखिँदै गए पनि समग्र सुधारका लागि देशले अझै महत्वपूर्ण क्षेत्रहरूमा प्रभावकारी कदम चाल्नुपर्ने फिट्चको मूल्यांकनले संकेत गर्छ ।

जानकारहरूका अनुसार नेपालले प्राप्त गरेको यो रेटिङ अहिलेको परिस्थितिमा राम्रो हो । जेनजी आन्दोलन नभएको भए रेटिङमा पनि स्तरोन्नति हुने अवस्था रहेको थियो । तर, आन्दोलनको असरले त्यसो हुन नपाएर यथास्थानमै रहेको जानकारहरू बताउँछन् । अहिलेको सुस्त अर्थतन्त्रलाई पुनः लयमा फर्काउन यस रेटिङले राहत दिनेछ । मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न रेटिङले सहयोग गर्ने समेत देखिएको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्