सीको भ्रमणलाई फर्केर हेर्दा


Published On : 6 October, 2020

– श्याम रिमाल

हामीलाई नेपालको जमीन एक इञ्च पनि चाहिँदैनः माओ (माओ त्सेतुङ अन डिप्लोमेसी, चिनियाँ विदेश मन्त्रालय)

दुई ध्रुवीय विश्वको अन्त्यपछि एकल विश्व महाशक्ति बनेको अमेरिकालाई टक्कर दिने एशियाको सबभन्दा ठूलो राष्ट्र चीन हालैका वर्षहरुमा लिएको बहुपक्षीयतावादले धेरै राष्ट्रको समर्थन पाएर विश्व राजनीति र अर्थतन्त्रको केन्द्र बन्दैछ । अमेरिका एकपक्षीयतावाद, संरक्षणवाद, जातीयवाद र राष्ट्रवाद उन्मुख भइरहेका बेला चीन नयाँ विश्व व्यवस्था निर्माणमा लागिरहेको र सन् २०३० सम्म विश्वकै पहिलो अर्थतन्त्र हुने दौडमा चीन लागेकाले विश्व राजनीति, अन्तरराष्ट्रिय सम्बन्ध एवं कूटनीति झन्झन् रोमाञ्चकारी हुँदैछ ।

नेपाल चीनको असल छिमेकी हुनाले चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपालको संविधान दिवसको अवसर पारेर २०७७ असोज ३ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका थिए । उक्त सन्देशमा चिनियाँ राष्ट्रपति सीले गत वर्ष वैशाख १२–२० मा नेपालका राष्ट्रपति भण्डारीको चीन भ्रमण र असोज २५–२६ को आफ्नो नेपाल भ्रमणको स्मरण गरेका थिए । शुभकामना सन्देशमा दुई देशबीचको दौत्य सम्बन्धलाई विकास तथा समृद्धिउन्मुख बनाउँदै युगौँयुगको मैत्रीपूर्ण रणनीतिक सहयोग र साझेदारीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका थिए । शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशले मिलेर कोभिडविरुद्ध लडेर सम्बन्धलाई अझ सुदृढ तथा गहिरो बनाएको उल्लेख गरेका थिए । त्यसअघि यसै वर्ष वैशाख १६ गते दुई राष्ट्रपतिको टेलिफोन संवादमा राष्ट्रपति सीले कोभिडमाथिको विजयपछि दुई देशबीच ट्रान्स हिमालयन मल्टीडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कअन्तर्गत र अन्य सम्झौताको कार्यान्वयन र सहयोगका क्षेत्रमा नेपाल चीन रणनीतिक साझेदारीको दिगो विकासमा जोड दिएका थिए । उनले मानव जातिको साझा भविष्य, ऐक्यबद्धता, आपसी सहयोग, बहुपक्षीयता र अन्तरराष्ट्रिय न्यायका विषयलाई दोहो¥याएका थिए ।

अब रेलदेखि तेलसम्मका सबै सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुपर्ने बेला भएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणका बेला भएको नेपाल चीन सीमापार रेलमार्ग परियोजना, सीमा व्यवस्थापन, व्यापार र लगानी कार्यसमूहको स्थापना, शासकीय क्षमता निर्माण जस्ता २० बुँदे सम्झौता छन् । त्यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता जस्तै बिआरआईअन्तर्गत सहयोगका विषयमा भएको समझदारीको ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको ढाँचामा रहेर कार्यान्वयनको तीव्रता(बन्दरगाह, सडक, रेलमार्ग, उड्ययन, सञ्चार) लाई मूर्तरुप दिनुपर्ने छ ।

गत वर्ष डिसेम्बरमा चीनकै हुपेई प्रान्तको उहान शहरमा उत्पन्न कोरोना महामारी नियन्त्रण गर्न नेपालले एक लाख मास्क चीन सरकारलाई र चीनले स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरेको थियो । गत जुलाई २७ (साउन १२) मा चीनका विदेशमन्त्री याङ यीले चीन, नेपाल, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीसँग चतुर्देशीय भिडियो मिटिङ गरी कोरोनासँग लड्न र सीमा सुरक्षाका लागि आपसी समन्वय र यस क्षेत्रको शान्ति र सुरक्षा र बिआरईको विस्तारमा जोड दिएका थिए । यसैबीचमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको राजनीतिक भेटले पनि कूटनीतिक क्षेत्र तरङ्गित बन्यो ।

नेपालसँगको मित्रतालाई महत्व दिँदै चिनियाँ राष्ट्रपति सीले राष्ट्रपतिको हैसियतले २३ वर्षपछि २०७६ असोज २५ गते नेपाल भ्रमण गर्नुपूर्व पत्रिकाहरुमा उल्लिखित बुद्धभद्र (सन्३५९–४२९)बारे पहिलोपल्ट सुने पनि बौद्ध विद्वान्हरुले नेपाल चीन सम्बन्धका एक सेतुका रुपमा उनको नाम धेरैअघिदेखि नै लिन थालेका हुन् । सिद्धार्थ गौतम बुद्धको परिनिर्वाणबारे जानकारी दिने ‘महापरिनिर्वाणसूत्र’ र अन्य थुप्रै बौद्ध ग्रन्थको संस्कृतबाट चिनियाँ भाषामा अनुवाद गर्ने र चीनमा ध्यान सम्प्रदायको स्थापना गर्ने बुद्धभद्र कपिलवस्तुबाट पाँचौँ शताब्दीमा चीन पुगेका थिए । उनले कपिलवस्तु र लुम्बिनी भ्रमण गरेका बौद्ध अध्येता फा हियानसँग मिलेर सयभन्दा बढी बौद्धग्रन्थ चिनियाँ भाषामा पाँचौँ शताब्दीमा अध्ययन गरेका थिए । उनकै स्मृतिमा चीनको जियाङ्सी प्रान्तको दोङलिङ गुम्बामा बुद्धभद्रको सम्मानार्थ तामाको दुई सय किलोको प्रतिमा स्थापना गरिएको छ ।

नेपाल चीन सम्बन्धलाई नेपालका भृकृटी(सातौँ शताब्दी) र अरनिको(तेह्रौँ शताब्दी) तथा चीनका हुयन साङ(सातौँ शताब्दी)ले पनि यात्रा गरी सम्बन्ध वृद्धि गर्दै लगे । पाँच हजार वर्ष सभ्यता भएको चीनसँग नेपालको दुई हजार वर्ष पुरानो सम्बन्ध उदाहरणीय छ । मिथक वा किंवदन्तीलाई पत्याउने हो भने त पौराणिककालमै चीनको पञ्चशीर्ष पर्वतबाट नेपाल आएका बोधिसत्व मञ्जुश्रीले नागह्रदलाई निकास दिई मञ्जुपत्तन बस्ती बसाएका थिए भनिन्छ ।

विगतमा सगरमाथा विवाद विसं २०१६, मुस्ताङ घटना विसं २०१७, सीमा विवाद विसं २०१७, भई सबै समस्या शान्तिपूर्ण रुपमा समाधान गरेका दुवै मुलुकबीच समस्यारहित मित्रता छ । चीनले नेपालको पूर्वाधार, आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको सहयोग अविष्मरणीय छ । तर, विश्वशक्तिको छिमेकी भएर पनि नेपाल अविकसित, गरीब, पछौटे हुनु सुहाउँदिलो विषय होइन । सन् १९४९ मा साम्यवादी शासन चलाएको चीनले विश्व अर्थतन्त्रमा १६ प्रतिशत हिस्सा ओगटी कुल गार्हस्थ उत्पादन वार्षिक १३.३७ ट्रिलियन डलर भई दोस्रो अर्थतन्त्र भइसक्दा उत्तरतिर करीब १,४०० किमी सीमा छोएको नेपाललाई माथि उठाउन चीनले पनि मद्दत गर्नुपर्ने हो । यसमा भौगोलिक कठिनाइ मात्र बाधक हो या नेपालको शासन व्यवस्था वा राजनीतिक नेतृत्वको कमजोरी भन्ने समीक्षा हुनु जरुरी छ ।

अब रेलदेखि तेलसम्मका सबै सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुपर्ने बेला भएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणका बेला भएको नेपाल चीन सीमापार रेलमार्ग परियोजना, सीमा व्यवस्थापन, व्यापार र लगानी कार्यसमूहको स्थापना, शासकीय क्षमता निर्माण जस्ता २० बुँदे सम्झौता छन् । त्यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता जस्तै बिआरआईअन्तर्गत सहयोगका विषयमा भएको समझदारीको ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको ढाँचामा रहेर कार्यान्वयनको तीव्रता(बन्दरगाह, सडक, रेलमार्ग, उड्ययन, सञ्चार) लाई मूर्तरुप दिनुपर्ने छ । हालै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि त्यहाँको सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच हालसम्म भएका सम्झौता तथा बिआरआई सम्बन्धी शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यावरणीय सुधारका परियोजना कार्यान्वयनमा नै आफ्नो ध्यान दिने स्पष्ट जानकारी दिनुभएको छ । नेपालले बिआरआई सम्बन्धमा चीनले मागेका अन्य परियोजना पनि दिन सक्नुपर्छ । जुन नेपालको सामाजिक आर्थिक विकासमा कोशेढुङ्गा सावित होऊन् । नेपालले चीनले मागेका परियोजनाहरु दिन नसकेको भनी चीन पक्षबाट आएका गुनासोलाई रहिरहन दिनुहुँदैन ।

अहिले नेपालको व्यापारमा मुख्य भूमिका खेलेका तातोपानी र केरुङ नाका पूर्ण रुपमा पुनः सञ्चालन गर्नुपर्ने देखिन्छ । सम्झौता भइसकेका र खुला गर्न बाँकी नाकाहरु कोरोला, यारी, हिल्सा, किमाथान्का, ओलाङ्चुङ्गोला, लप्ची, लार्के, नाग्चा, आदि नाका पनि विस्तारै खुलाउन पूर्वाधारका काम गर्नु आवश्यक छ । नेपालको चीनसँगको व्यापार घाटा वार्षिक करीब रु दुई खर्ब छ । चीनले आठ हजार वस्तुमा भन्सार शुल्क शून्य गर्र्दा पनि नेपालले पर्याप्त निर्यात गर्न सकेको छैन । यसैले छिमेकीका नाताले नेपालको व्यापार घाटा कम गर्न सहयोग गर्नुपर्ने उसको दायित्व हो ।

अझ त्रिदेशी विन्दु(कालापानी क्षेत्र)बारे कुनै देशसँग सम्झौता गर्दा चीनले नेपालसँग सल्लाह गर्नुपर्छ । नेपालको लिपुलेक भएर भारतसँग सन् २०१५ मा सम्झौता गर्दा चीनले नेपाललाई सम्झनुपथ्र्याे । सीले भ्रमण गरेका देशमा चिनियाँ पर्यटकको ओइरो लागेको पढिएको सुनिएको हो । तर, कोरोना भाइरसको महामारीले रोकिएको चिनियाँ पर्यटकको आवागमन बढाउन दुवै पक्षले मेहनत गर्नैपर्छ । चिनियाँहरुलाई नजीकको शाक्यमुनिको देश घुम्नका लागि प्रेरित गर्न चीनमा बुद्ध र बौद्धधर्मबारे यथेष्ट प्रचारप्रसा गरिनुपर्छ । मञ्जुश्री, बुद्धभद्र, सिद्धार्थ गौतम, भृकुटी र अरनिको तथा चिनियाँ बौद्धयात्री हुयन साङलगायतका नेपाल भ्रमणका रोचक कथाहरु तिनलाई पढाउन सकेमा मात्र चिनियाँहरुले नेपालसँगको हजारौँ वर्षको सम्बन्धबारे थाहा पाउन सक्छन् । यसका लागि दुई भाषाको आदानप्रदान पनि सक्दो हुुनुपर्छ । सी भ्रमणले दिएको नेपालको महत्वलाई नेपाल आफैँले पूँजीकृत गर्न सक्नुपर्ने हो जुन सरकार तथा राज्यका विभिन्नस्तरमा रहेका व्यक्तित्व, नेताहरु, कर्मचारीहरु, व्यवसायी, गैसस तथा अन्तरराष्ट्रिय गैसस, मैत्री सङ्घ आदिका हातमा छ ।

२०७७ असोज १९

[email protected]

 

प्रतिक्रिया दिनुहोस्