काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) ले मन्त्रालयको नेतृत्वमा निजामती सेवा बाहिरका प्रशासनिक व्यक्तिलाई निश्चित प्रतिशतमा सिधै नियुक्त गर्ने व्यवस्था बनाउनुपर्ने प्रस्ताव गरेको छ । पार्टी संरक्षक कुलमान घिसिङ रहेका उनेपाको घोषणापत्र बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

घोषणापत्र वाचन गर्दै नेता रीमा विश्वकर्माले मन्त्रालयमा आवश्यक संख्यामा बाह्य विज्ञ राख्न सकिने प्रणाली आवश्यक भएको बताइन्। ‘मन्त्रालयको प्रशासनिक नेतृत्वमा निश्चित प्रतिशत संख्यामा निजामती सेवाबाहिरबाट विज्ञ नियुक्त गर्नुपर्छ,’ नेता रीमा विश्वकर्माले वाचन गरेको घोषणापत्रमा उल्लेख छ।
उनेपाले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका व्यक्तिलाई नयाँ सरकारले चाहेमा तत्काल हटाउन सक्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ।
राज्यका निकायबीच समन्वय र सहकार्य बढाउन आवश्यक कानुनी तथा संस्थागत संरचना बनाउने प्रस्ताव पनि घोषणापत्रमा समावेश छ। मुलुकको अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर बनाउने, प्राकृतिक साधन-स्रोतको एकीकृत उपयोग गर्ने नीति अपनाउनुपर्ने कुरा पनि भनिएको छ।
उनेपाले वर्तमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गर्दै, सार्वजनिक निकायहरूको पुनर्संरचना तथा निजी क्षेत्रको सेवा गुणस्तरीय र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्ने धारणा पनि घोषणापत्रमा उल्लेख गरिएको हो ।











