Logo
Logo

प्रहरी अधिकारीले किन धाए नेताको घर ?


- दृष्टि न्युज/संवाददाता


आइजिपीको चेतावनीले तरंग


काठमाडौं, १७ माघ ।

प्रहरी बढुवामा राजनीतिक चलखेल यसरी बढेको छ कि नेताको घर गएर सोर्सफोर्स नलगाउन प्रहरी महानिरीक्षकले नै चेतावनी दिनुपरेको छ । डिआईजी, एसएसपी र एसपी पदको बढुवाका लागि अत्याधिक दबाब आएपछि आईजिपी सर्वेन्द्र खनालले यस्तो धम्की चेतावनी दिएका हुन् ।

‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा होइन्छ भन्ने भ्रममा नपरे हुन्छ, नेताहरूकोमा धाउनेहरू बढुवामा छुटे भने गुनासो नगर्नुहोला ।’ प्रहरी अधिकारीहरू सरुवा–बढुवाका लागि नेताहरूकहाँ धाएकै कारण संगठन बलियो हुन नसकेको बताउँदै खनालले यस्तो प्रवृत्ति छाडेर संगठन प्रमुखमै विश्वास गर्नुपर्ने बताएका थिए । अनावश्यक चलखेलमा नलागी संगठनलाई बलियो बनाउनु नै संगठनप्रति योगदान हुने उनको भनाइ थियो । ‘अहिलेसम्मको निर्देशनमा आइजिपीसाब सबैभन्दा कडा रूपमा प्रस्तुत हुनुभएको थियो,’ मुख्यालयका एक अधिकारीले भने ।
हाल नेपाल प्रहरीमा डिआइजीको एक र एसएसपीका १५ पद रिक्त छन् । विवादकै कारण रिक्त पदमा बढुवा सिफारिस हुन सकेको छैन । बढुवाका आकांक्षीहरू शक्तिकेन्द्रमार्फत चलखेलमा लागेका छन् ।
बढुवाका प्रस्ट मापदण्ड नहुँदा पनि सधैँ चलखेल हुने गरेको छ । बढुवा सिफारिस समितिले एक सय पूर्णांकमा ७।५ नम्बर दिने अधिकार छ । जसकारण वास्तविक मूल्यांकनभन्दा पनि पहिला बढुवाको सूची बनाएर त्यहीअनुसार नम्बर मिलाउने विकृति बढ्दै गएको छ ।
यसअघिको बढुवामा पनि ठूला नेतानिकट प्रहरी अधिकारीहरू अग्रस्थानमा बढुवामा परेका थिए । त्यसकारण अहिले बढुवा प्रक्रिया सुरु भएपछि राजनीतिक लबिङ बढेको छ ।
डिआईजीको एक पदमा जुनियर एसएसपी विश्वराज पोखरेल सहितका एक दर्जन एसएसपी प्रतिस्धर्पामा छन् । त्यो भन्दा ठूलो अवस्था एसएसपी बढुवामा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाँदा एक हप्ता बढुवा रोकिएको थियो । ओली फर्किएसँगै बढुवाका आकांक्षीहरु कार्यालयबाट बिदा नै लिएर नेताहरुको घरमा दौडधुपमा लागेका छन् । यस्तो दृश्य देखिदै छ कि यतिबेला एसएसपी नभई आईजीपी बढुवामा जस्तो दौडधुप चलिरहेको छ ।
सत्तारुढ दलका हरेक जसो मन्त्री तथा शक्तिशाली नेताहरुको घरमा बिहानै प्रहरी अधिकारीहरु देखिने गरेका छन् । गृहमन्त्री निकट व्यक्तिहरुले रेस्टुरेन्टमा बोलाएर बिल तिराउँदै बढुवामा भनसुन गरिदिने आश्वासन दिएका छन् । केही बिचौलियाहरुको समेत सक्रियता बढेको छ ।
यसरी चलखेल बढ्नुको मुख्य कारण बढुवामा हुने अपारदर्शी प्रक्रिया हो । बढुवा समितिले स्वविवेकका आधारमा नम्बर दिएर चाहेको व्यक्तिलाई बढुवा गर्नसक्ने नियमावली भएकाले बढुवामा चलखेल बढ्दै गएको हो ।
हाल प्रहरीमा १५ एसएसपीका पद रिक्त छन् । जसमा ३१ जना एसपीहरु दाबेदार छन् । प्रतिस्पर्धीहरु सबैको राजनीतिक पहुँच भएकाले गृहमन्त्री र आईजीपीलाई पनि एसएसपी बढुवामा टाउको दुखाईको विषय बनेको छ ।
बढुवाको प्रतिस्पर्धामा अहिलेको सिनियारिटीको बरियताअनुसार डा। गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, बसन्तबहादुर कुँवर, रामदत्त जोशी, भरतबहादुर बोहरा, मिरा चौधरी, किरण बज्राचार्य, टेकप्रसाद राई, रबिन्द्र केसी, पोषराज पोख्रेल, नवराज भट्ट, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्रप्रसाद उप्रेती छन् । त्यस्तै कुबेर कडायत, केदार ढकाल, राजेन्द्र बिष्ट, विष्णुबहादुर केसी, राजेशनाथ बाँस्तोला, सुदिप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, विकासराज खनाल, कृष्ण कुमार महत, लालमणि आचार्य, गोविन्दबहादुर साह, उमाशंकर पञ्जियार, किरण राणा र भीम ढकाल प्रतिस्पर्धामा छन् ।
उनीहरु सबै २०७१ साल फागुन १० गते एसपीमा बढुवा भएका थिए । उनीहरुमध्ये को पहिलो नम्बरमा हुने प्रतिस्पर्धा छ । एसपी रेग्मी २०४७ सालमा असईमा भर्ना भएर पनि इन्सपेक्टरमा नाम निकालेकाले उनी पहिलो नम्बरमा बढुवा भए पनि अरुलाई चासो छैन । त्यसपछि ज्ञवाली दोस्रो नम्बरमा छन् । उनलाई उछिन्न सन्दीप भण्डारी, उमेशराज जोशी, टेकबहादुर राई लगायत एसपीहरु लागेका छन् । भण्डारी डिएसपीमा पहिलो नम्बरमा रहेकोमा ज्ञवालीले उछिनेका थिए । त्यसकारण यसपटक उनी ज्ञवालीलाई उछिन्ने दाउमा छन् । प्रधानमन्त्री ओली भण्डारीकै पक्षमा रहेको बताइन्छ ।
आईजीपी सर्वेन्द्र खनाल भने ज्ञवाली र भण्डारी दुवैसँग नजिक छैनन् । उनी उमेशराज जोशीलाई अघि ल्याउने पक्षमा छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राई जातीयताको आधारमा टेकप्रसाद राईलाई अगाडि ल्याउन लागिपरेका छन् । नेताहरुको चाकडी नगर्ने र आर्थिक चलखेन गर्न नसक्ने एसपीहरुमाथि भने यसपटक ठूलो अन्याय हुने देखिन्छ । राम्रो काम गर्ने तर भनसुन गर्न नसक्नेहरु यसरी बढुवामा छुट्ने र चलखेल गर्नेहरुमात्र माथि जाँदा संगठन नै दिनप्रतिदन कमजोर हुँदै गएको छ । आईजीपीले समेत राम्रा अधिकृतहरुलाई न्याय गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ । तर पनि आफूले सही मूल्याङकन गर्ने भन्दै शक्तिकेन्द्र नधाउन निर्देशन दिएका छन् ।

तर बढुवाका एक आकांक्षी भने प्रहरी नेतृत्व कमजोर रहेके र बढुवामा राजनीतिक नेतृत्व हाबी भएकाले नेताकोमा धाउनै परेको बाध्यता रहेको सुनाउँछन् । बढुवामा आईजिपी भन्दा शक्तिकेन्द्रहरु नै हाबी हुँदै आएकाले यस्तो अवस्था आएको कपितय प्रहरी अधिकारीको टिप्पणी छ ।
यससम्बन्धि समाचार भाइरल भएपछि कतिपलयले भने आईजिपीलाई समेत ब्यग्य गर्दै यस्तो लेखेका छन्–

प्रतिक्रिया दिनुहोस्