काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले अवश्य बयान दिनुपर्ने बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरूसँगको अन्तरसंवादमा पोखरेलले आफू ओलीको स्थानमा भए आयोग बोलाउने अघि नै जान्छु भनी बयान दिने बताए । उनका अनुसार, सरकारले बनाएको आयोगसँग असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न जानु स्वाभाविक र आवश्यक हो ।
‘आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसन हुन सक्छ, तर बोलाउनु स्वाभाविक हो । म भए अझै अगाडि गएर बयान दिन्थेँ । अवज्ञा गर्नु ठीक हुँदैन,’ पोखरेलले भने ।
पार्टीको एघारौं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादमा उनले आयोगले तय गरेको ढाँचाअनुसार ओलीले नजाने निर्णय राम्रो नहुने धारणा राखे ।
‘आयोगको अध्यक्ष जसलाई बनाइयो, २३ र २४ गतेको आन्दोलनपछि मान्यताको आधारमा उभ्याइएको छ । अब तीनै जना अध्यक्ष हुँदा निष्पक्षता कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्न छ,’ उनले भने ।
तर पोखरेलले जोड दिए कि बयान दिन जानु, विचार राख्नु र तथ्य प्रस्तुत गर्नु गलत अर्थ लगाउन नमिल्ने कुरा हो । ‘हाम्रो अध्यक्ष पनि बयान दिन जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले स्पष्ट पार्दै भने ।











