काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।

राउतका अनुसार, पछिल्लो समयमा मानवअधिकार अत्यन्त जटिल, पेचिलो र संवेदनशील बन्दै गएको छ । उनले चेतावनी दिँदै भने, ‘मानवअधिकारमा राजनीतिका प्रभाव प्रवेश गर्दा वातावरण विषाक्त हुन्छ । आ–आफ्नो विचारको चश्माबाट हेर्ने हो भने यसको सार्वभौमिकता, मान्यता र महत्त्वमा निसन्देह असर पर्छ ।’
उनले जोड दिए, ‘व्यक्तिगत विचार वा आस्थाभन्दा माथि उठेर मानवअधिकारलाई हेर्नुपर्दछ । यसरी मात्र मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन सुनिश्चित गर्न सकिन्छ । विषाक्त राजनीतिका चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई अलग्याउनुपर्छ ।’
प्रधानन्यायाधीश राउतले गत २४ भदौको जेनजी आन्दोलनको क्रममा अदालत र बार एसोसिएसन जलेको स्मरण गर्दै भने, ‘अदालत र हजारौँ मुद्दाका मिसिलहरू जले पनि न्याय र निष्ठा नजलेको प्रमाणित हुन्छ । आन्दोलनले नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको छ ।’











