एजेन्सी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि जनवरी महिनादेखि ८५ हजार भिसा रद्द गरिएको घोषणा गरेको छ । विभागले सामाजिक सञ्जाल एक्समार्फत कडा आप्रवासन निरीक्षणमा ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धता रहेको कुरा पनि जोड दिएको छ ।

घोषणासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर ‘अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस्’ भन्ने शब्दहरूसहित राखिएको छ, जसले भिसा नियम कडा बनाउनु राष्ट्रिय सुरक्षा प्रयासको केन्द्रविन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थी भिसा रहेका छन् । अधिकांश भिसा असुरक्षित गाडी चलाउने, चोरी, आक्रमण जस्ता अपराधका कारण रद्द गरिएका हुन्
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा विदेश विभागले भिसा आवेदनको समीक्षा र भिसा धारीको अनुगमनमा मापदण्ड थप विस्तार गरेको छ । प्रशासनले विशेषगरी ‘एच–वान–बी’ भिसा आवेदकहरूको जाँच बढाएको छ, जुन भिसा अमेरिकी रोजगारदाताहरूका लागि विदेशी प्रतिभा भित्र्याउने मुख्य कार्यक्रम हो ।











