काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

शनिवार नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले प्रमाणित गरेको छ कि कम्युनिस्टहरू नै सच्चा देशभक्त र राष्ट्रभक्त हुन्छन्,’ गुरुङले भने, ‘मुलुकको स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न सक्ने शक्ति कम्युनिस्टहरू नै हुन् ।’
उनले कम्युनिस्टहरूबीच एकता नभई समाजवादी व्यवस्था स्थापना गर्न कठिनाइ हुने बताए । ‘नेपालको कम्युनिस्ट आन्दोलन बारम्बार विभाजित हुँदै आएको छ । यसलाई एकताबद्ध नगरी लोकतन्त्रको रक्षा र समाजवादी प्रणाली स्थापना गर्न चुनौतीपूर्ण छ,’ उनले भने ।
यसअघिका कम्युनिस्ट एकताहरूलाई निरन्तरता दिन नसकिएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए । ‘विगतमा भएका कम्युनिस्ट एकताहरूलाई टिकाउन सकेनौँ । अब त्यसबाट सिकेर मुलुकको लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्छ,’ गुरुङले भने । उनले आफ्नो पार्टीले कम्युनिस्ट एकताको अभियान थालेको र एमाले महाधिवेशनले पनि यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।











