काठमाडौं । काठमाडौं उपत्यकाको ३ वटा प्रहरी कार्यालय पुनर्निर्माण गरेर नागरिक अगुवाहरूले प्रहरीलाई हस्तान्तरण गरेका छन् । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौंको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।

आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले आगजनी गरेपछि त्यहाँको पुनर्निर्माणको नेतृत्व हास्य कलाकार केसीले गरेका थिए ।
नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा असोज ३१ मा ‘राता मकै’ लाई सम्मान पनि गरिएको थियो । प्रहरी वृत्त सातदोबाटो भवन सुरुमा निर्माण गर्दा पनि केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
प्रहरी वृत्त बौद्धको कार्यालय र ब्यारेक भवन पनि पुनर्निर्माण गरेर स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका छन् । जेनजी प्रदर्शनमा आगजनी भएको बौद्ध प्रहरीको भवन करिब करिब १ करोड ५० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।











