काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्र बैङ्क ऐनलाई लत्त्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरविरुद्ध विभिन्न निकायका अनुसन्धान भइरहेको र अनुभवका हिसाबले समेत पौडेलको नियुक्ति राष्ट्र बैङ्क ऐनको विरुद्ध भएको बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडका संयोजक जनक परियारले जानकारी दिए ।
जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैङ्क तथा वित्तीय संस्थाको मनपरीलाई रोक्नुपर्ने, वैदेशिक ऋणको सदुपयोग गर्नुपर्ने लगाएका माग राखेका छन् ।











