Logo
Logo

मलेसियामा दैनिक एक नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


 वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक एकजनाको मृत्यु हुने गरेको छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना तथा कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। 

मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ मा  ३२२ को  मृत्यु भएको छ। यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो।  सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ।

सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १९८ रहेको छ। मृत्यु हुनेमा एक जना महिला र बाँकी सबै पुरुष छन्। सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए।

कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो। अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ रहेको थियो। पछिल्लो तथ्याङ्कअनुसार मलेसियामा तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन्।

प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको छ ।

पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको सङ्ख्या घटेको हो । यसअघि सात लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्याङ्क थियो ।

प्रतिक्रिया दिनुहोस्