एजेन्सी । कम्बोडियासँगको सीमामा झडप तीव्र बन्दै गएपछि थाइल्यान्डले तटीय क्षेत्रहरूमा कर्फ्यू घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्ध रोक्न सहमत भएको दाबी गरेको दुई दिनपछि विवादित सीमा क्षेत्रको तटीय भूभागमा लडाइँ फैलिएको जनाउँदै थाइल्यान्डले दक्षिणपूर्वी त्राट प्रान्तमा कर्फ्यू लागू गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भएपछि दक्षिणपूर्वी एसियाली यी दुई छिमेकी राष्ट्रबीच यस वर्ष पटक–पटक सीमा झडप हुँदै आएको छ ।
कर्फ्यू घोषणा गरेपछि बैंककमा आयोजित पत्रकार सम्मेलनमा थाई रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल सुरसान्त कोङ्सिरीले थाइल्यान्ड कूटनीतिक समाधानका लागि खुला रहेको तर वार्ता अघि कम्बोडियाले शत्रुता पूर्ण रूपमा बन्द गर्नुपर्ने स्पष्ट गरे ।
थाइल्यान्डद्वारा लागू गरिएको कर्फ्यू त्राट प्रान्तका पाँच जिल्लामा लागू गरिएको छ, जसमा कोह चाङ र कोह कुडका प्रमुख पर्यटकीय टापुहरू भने समावेश छैनन् । यसअघि पूर्वी साकेओ प्रान्तमा लगाइएको कर्फ्यू अझै कायम रहेको सेनाले जनाएको छ ।
थाइल्यान्ड र कम्बोडियाबीच गत सोमबारदेखि सीमा क्षेत्रमा विभिन्न स्थानमा गोलीबारी भइरहेको छ । गत जुलाईमा ट्रम्प र मलेशियाको मध्यस्थतामा पाँच दिने झडप अन्त्य भएयता यो सबैभन्दा गम्भीर सैन्य भिडन्त मानिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार थाइल्यान्डका कामचलाउ प्रधानमन्त्री अनुतिन चर्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँग टेलिफोन वार्ता गरेको र दुवै पक्ष गोलीबारी रोक्न सहमत भएको दाबी गर्नुभएको थियो ।
तर त्यसको भोलिपल्टै थाई प्रधानमन्त्री अनुतिनले आफ्नो भूमि र नागरिकलाई हानि वा खतरा महसुस भइरहेसम्म कम्बोडियाविरुद्ध सैन्य कारबाही जारी रहने चेतावनी दिएका थिए।
यसैबीच थाइल्यान्डको सेनाले सार्वभौम क्षेत्र पुनः दाबी गर्ने उद्देश्यसहित कम्बोडियाविरुद्ध नयाँ आक्रमण सुरु गरेको जनाएको छ । उता, कम्बोडियाले हिजो मात्र उत्तरी छिमेकी थाइल्यान्डसँगका सबै सीमानाका बन्द गर्ने घोषणा गरेको थियो ।
थाइल्यान्ड–कम्बोडिया सीमा विवाद औपनिवेशिक कालमा तय गरिएको झण्डै ८ सय किलोमिटर लामो सीमारेखासँग जोडिएको छ । यही विवादका कारण यस महिनादेखि झडप पुनः चर्किएको हो । हालसम्मको झडपमा कम्तीमा २५ सैनिक तथा सर्वसाधारणको ज्यान गएको छ भने दुवै देशका पाँच लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।











