Logo
Logo

संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छः सभामुख


504
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वोच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: sabhamukh-debraj.jpg

उन्नाइसौँ संसद् सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताए। उनले भने, “संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै तर्क र आवश्यकता छ । यसको फाइदा र बेफाइदा दुवैलाई वस्तुनिष्ठ रूपमा हेरिनुपर्छ । संसद् सेवालाई केवल बन्द मात्र राख्ने होइन, यसलाई जीवन्त र गतिशील बनाउनुपर्ने आवश्यकता छ ।”

संसदीय अभ्यासलाई विशिष्टीकृत मर्यादित र व्यावसायिक बनाउन विगत १९ वर्षअघि आजकै दिन छुट्टै ऐनमार्फत ‘स्वायत संसद्’ सेवाको गठन गरिएको थियो । संसद्ले बनाएका कानुन कार्यान्वनमा सरकारको कामको नियमन गरी प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै सभामुख घिमिरेले यस सेवाका विशिष्टीकृत क्षमता राख्ने कर्मचारीले राजनीतिक उतारचढावका बीच आफ्नो व्यावसायिक धर्म र कर्तव्य पूरा गर्न सक्ने मान्यता राखिने धारणा व्यक्त गरे ।

“संसद् राजनीतिको केन्द्र हो । यहाँ विचारको टकराव हुन्छ, दलगत स्वार्थका बहस हुन्छन् । यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारीले बरफ जस्तै शीतल र स्थिर रहनुपर्छ”, सभामुख घिमिरेले भने “सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु, संसद् सरकारको अधीनमा रहने कुनै एउटा शाखा होइन ।”

सरकारलाई संसद्को स्वायत्ततामा आँच आउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै सभामुख घिमिरेले संसद् कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो र लोकतन्त्र कमजोर हुँदा अन्ततः राज्य नै असफल भन्ने पाटोलाई बुझ्न जरुरी रहेको धारणा राख्नुभयो । नयाँ पुस्ता जेनजीले उठाएका मुद्दालाई सम्बोधन गर्ने थलो संसद् नै भएकाले त्यसको विघटनको आवश्यकता नरहेको तर्क गर्दै उनले संसद् भनेको उच्च सम्मान प्राप्त जनताबाट निर्वाचित देशकै सर्वोच्च र विश्वासनीय संस्था हो भन्ने विषयलाई आत्मसात गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्