Logo
Logo

सत्ताको तृष्णा


भुपेन्द्र थापा ‘माधब’

126
Shares

विचार ,सिद्धान्त र आदर्श
स्वार्थको खाल्डोमा पुर्नेहरू
तिमी जहाँ छौँ त्यहीबाट लखेटिने छौँ।
वर्गबाट लखेटिने छौँ।
बौद्धिकबाट लखेटिने छौँ।
किसान,मजदुरबाट लखेटिनेछौ।

हरेक मन,मष्तिस्क र भावनाबाट लखेटिएका छौँ।
किन कि तिमीले
लेखेको इतिहासका पानाहरू
तिमीले नै च्यात्ती दिएका छौँ।
क्षतविक्षत आशाका लासहरु
खोक्रो आदर्शको चितामा जलिरहेछन्।

अस्थिरता,विरोधाभास र अर्कमणियतामा फस्नेहरू
झुट र लुटमा रम्ने संमसानघाटका
सैतानी राक्षसहरू नर्कको बाटो हुँदै
स्वर्गको सपना वटुल्दै छन्।
विचारको धारिलो धारमा
विभाजनको अहंकार दल्नेहरू
समाजवाद र साम्यवादी सपनाको चौटा लुछ्दै छन्।

टुटेका आशा र भरोसाको कमण्डलु
गुमेका विवेकशील जनताको कोर्रा खाएका नरपिचासहरु
गुमनाम एैँचोपैँचोको अस्तित्व खोज्दै छन्।
समाजवाद र समृद्धिको यौवनलाई नाङ्गेझार पारेर
चाकडीवाद,परिवारवाद र चम्चागिरी बटुल्नेहरू
अहंकार, घमन्ड र प्रतिशोधको ज्वालामा दन्किरहेछन्।

भ्रष्टाचार र कालोबजारीको धन्दा चलाएर
समृद्धिको खोल बेरेर धोका,अविश्वास र गद्दारी बेच्नेहरु
समानता, सुशासन र समृद्धिको आशालाई छर्पष्ट पारेर
पैसा,पावर, सँगसँगै उडुस र उपियाँका ताँतीहरू वटुल्दै छन्।
झुपडीमा भरोसाको दियो बालेर
महँगी कालाबजारी र तस्करीहरू
दुख, कष्ट र अभावको धुरीमा आगो झोस्दै छन्।
विनाशकारी र अंहकारी कालो बादलको घेरा हालेर
मुसलधारे गोली बर्साउन
नरसंहारकारीहरू आदेश र उर्दी लगाउँदैछन्।

सत्ता र शक्तिको तिर्खा मेटाउन
रगतको नदी बगाएर
सिंहासन र लङ्काका दानवहरू आफ्नो भोक मेटाउँदै छन्।
बेसहारा र बुढेसकालको सहारा चुँडेर
आमाको मुटु र कलिला भविष्यको चौटा गिद्धले झैँ लुछ्नेहरू
आमाको चीत्कारलाई बैरीको सङ्गीत बनाएर
नरसंहारकारीहरू महाताण्डव गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्