Logo
Logo

हस्तकलालाई पर्यटनसँग जोड्न ‘हस्तकला तथा गार्मेन्ट मार्ट’


378
Shares

गण्डकी । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन एगा पोखराको संयुक्त आयोजनामा पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट गरिने भएको छ ।

The current image has no alternative text. The file name is: aga.jpg

हस्तकलामार्फत बनाइएका वस्तु तथा हाते तानमार्फत बुनिएका कपडासँगै उक्त क्षेत्रमा क्रियाशिल व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ आगामी पुस १४ र १५ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

स्थानीयस्तरमा प्राप्त हुने कच्चा पदार्थबाट बनेका औषधीय गुण भएका हेम्स, अल्लो, सिस्नोलगायतका रेशाबाट उत्पादित कपडाको महत्त्व बुझ्न र बुझाउनका लागि मार्ट महत्त्वपूर्ण हुने उनले बताए ।

यहाँ उत्पादित घरेलु सामानको राष्ट्रिय एवम् अन्तरराष्ट्रियस्तरमा बजारीकरणका लागि पनि मार्टले योगदान पुग्ने विश्वास लिइएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले बताए ।

“नेपाली रैथाने वस्तुबाट स्वदेशमा नै उत्पादित कपडामा नेपालका धार्मिक एवम् पर्यटकीयस्थल इम्ब्रोइडरी गरी यहाँको पहिचानलाई विश्व बजारमा चिनाउन एगाले भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “नेपाली घरेलु उत्पादन, त्यसका प्रक्रिया आदि बारे प्रत्यक्ष रूपमा पर्यटकलाई जान्ने र बुझ्ने अवसर प्रदानका लागि पनि मार्ट गर्न लागेका हौँ ।”

स्वदेशी उत्पादन स्थापित गर्दै रोजगारीको सिर्जना गरेर युवाको विदेश पलायन रोक्ने र ग्रामीण अर्थतन्त्र उकास्नका लागि पनि घरेलु उत्पादनको बजारीकरण आवश्यक भएको बताउँदै अध्यक्ष लम्सालले मार्टले घरेलु उद्यमीका उत्पादनको सम्भावित राष्ट्रिय र अन्तरराष्ट्रिय ग्राहक र उत्पादकबीच सम्पर्क स्थापित गर्ने पनि सहयोग पुग्ने बताए ।

कार्यक्रम संयोजक एवम् एगा पोखराका सहसचिव सुरेन्द्र पौडेलका अनुसार मार्टमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लम्जुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका ग्रामणि क्षेत्रबाट आउने सहभागीद्वारा हेम्स, अल्लो, ऊनलगायतबाट तानमा राखेर बनाइएका सामग्री प्रदर्शन गरिनेछ ।

मार्टमा १४ वटा प्रदर्शनी कक्षसँगै चारवटा तान रहने छन्, जहाँ तानमा बुनेर प्रत्यक्ष देखाउनुुका साथै प्रदर्शनी कक्ष स्टलमा सामग्री राखिने छन् ।

प्रतिक्रिया दिनुहोस्