Logo
Logo

उम्मेदवारी दर्तापछि ओली गुट तितरबितर


5.3k
Shares

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भयसँगै अध्यक्ष केपी शर्मा ओली गुट तितरबितर भएको छ । ओली गुटका प्रभावशाली मानिएका कैयौँ नेताहरूले उक्त गुटबाट विद्रोह गर्दै उम्मेदवारी घोषणा गर्न थालेपछि अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पक्षधरहरू भने उत्साहित भएका छन् ।

The current image has no alternative text. The file name is: kpoli.gif

उम्मेदवारी दर्ताको क्रममा आफू पक्षधर नेताहरूले आफ्नो आदेशलाई पूर्णरुपमा पालना गर्छन् भन्ने ठानेका ओली त्यतिबेला झल्याँस्स भए जब उपाध्यक्षमा प्रदिप ज्ञवाली र सचिवमा लेखराज भट्टले उम्मेदवारी दिन अस्वीकार गरे । अघिल्लो महाधिवेशनबाट उपमहासचिव भएका ज्ञवाली महासचिवका दाबेदार हुन् तर महासचिव शङ्कर पोखरेल दोहोरिन चाहेपछि ओलीले ज्ञवालीलाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । तर, ज्ञवाली आफू महासचिवको दाबेदार भएको भन्दै उपाध्यक्ष पदमा नबस्ने निर्णय गरेका छन् । 

भट्ट चितवन महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । उनलाई ओलीले फेरि पनि त्यही पदमा दोहोर्याउने प्रस्ताव गरेपछि उनले अस्वीकार गरेका  छन् । फलस्वरुप ओलीले उपमहासचिवमा प्रस्ताव गरेका भानु भक्त ढकाललाई सचिवको उम्मेदवार बनाएर भट्टलाई उपमहासचिवकै उम्मेदवार बनाएका छन् । 

उम्मेदवारी दर्ता र फिर्ता चलिरहेकोले अन्तिममा को कुन पदमा उम्मेदवार हुन्छन् अहिले नै सम्पूर्णरुपमा भन्न सकिने अवस्था छैन । ज्ञवाली र भट्ट मात्र होइन, ओली पक्षका प्रभावशाली मानिएका धेरै नेताहरू अहिले ओलीसँग बिच्किएका छन् । 

एमाले भित्र सबैभन्दा सादगी र कामकाजी नेता मानिएका र विगत देखि नै ओलीको पक्षमा उभिदैं आएका काशिनाथ अधिकारीले अनुशासन आयोगको अध्यक्ष पद नै अस्वीकार गरेका छन् । पदाधिकारीकै उम्मेदवार बन्ने सोच बनाएका अधिकारीलाई ओलीले पदाधिकारीमा नसमेटेपछि उनले कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन् ।

कुनै बेला ओलीलाई पेले मान्ने काठमाडौंका कृष्णगोपाल श्रेष्ठले पनि महाधिवेशनको मुखमा ओलीको साथ छाडेका हुन् । त्यस्तै ओलीको ‘किचन क्याविनेटका सदस्य’ मानिने संखुवासभाका राजेन्द्र गौतम र झापाका अग्नी खरेलले पनि उम्मेदवारी दर्ता भएपछि गुटबाट विद्रोह गरेर ‘पार्टी भित्रको स्वतन्त्र’ भएको घोषणा गरेका छन् । पार्टीको प्रचार विभागका निवर्तमान प्रमुख गौतम र पूर्व कानुनमन्त्री समेत रहेका खरेल दुवै जनाले ओली गुटबाट पदाधिकारीको उम्मेदवार बन्ने प्रयास गरेका थिए । नपाए पछि उनीहरूले ओली गुट छोडेका हुन् ।

त्यस्तै आफूलाई केन्द्रिय सदस्यमा मात्रै सिमित गरिएपछि पूर्वमन्त्री लालबाबु पण्डितले ओली गुट छोडेर ‘स्वतन्त्र’रूपमा सचिवको उम्मेदवार बनेका छन् भने पन्त पोखरेल गुटबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । त्यस्तै पदाधिकारीमा दावी गर्दै आएका भीम आचार्यलाई पनि केन्द्रिय सदस्यमा मात्र सिमित गरिएपछि स्वतन्त्ररुपमा उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

त्यस्तै पूर्व उपाध्यक्ष सुवास नेम्वाङका छोरा तथा युवाहरूमाझ निकै लोकप्रिय रहेका युवा नेता सुहाङ नेम्वाङले पनि आफूलाई ओली गुटले नसमेटेपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ताको विषयमा ओली गुट आन्तरिक विवादमा फसेर तितरबितर हुँदा पोखरेल पक्ष भने तुलनात्मकरुपमा सङ्गठित देखिएको छ । चुनावी प्रक्रिया सुरु भएपछि ओली गुटमा देखिएको भद्रगोलले परिणाम आफ्नो पक्षमा आउन सक्ने सम्भावना थप बलियो बनाएको भन्दै पोखरेल पक्ष भने उत्साहित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्