काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियाले संस्थापन पक्षमै गहिरो विवाद जन्माएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहभित्रै असन्तुष्टि सतहमा आएको हो ।

महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने ओलीको चाहनापछि संस्थापन पक्षभित्र मतभेद चर्किएको हो । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्ष बनाउने गरी पहिलो सूची सार्वजनिक गरिएसँगै असन्तुष्टिको श्रृंखला सुरु भयो ।
सोमबार बिहान तयार पारिएको प्रारम्भिक सूचीमा भानुभक्त ढकाललाई उपमहासचिव प्रस्ताव गरिएको थियो । तर, सचिवमा दोहोर्याउन खोजिएका लेखराज भट्टको कडा असन्तुष्टिपछि सूची तत्कालै संशोधन गरियो । सहमतिअनुसार ढकाललाई सचिव र भट्टलाई उपमहासचिव बनाउने निर्णय गरियो । भट्टले ईश्वर पोखरेल समूहबाट पदाधिकारी बन्ने तयारी गरेपछि संस्थापन पक्ष दबाबमा परेर निर्णय सच्याउन बाध्य भयो ।
‘टिम फर्मेसन’प्रति असन्तुष्टि जनाउँदै अग्नि खरेल, लालबाबु पण्डित र रघु पन्तले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता तथा पूर्व कानून मन्त्री हुन् । पन्त भदौ २३ सम्म ओली सरकारमा शिक्षा मन्त्री थिए भने पण्डित हालसम्म ओली पक्षमै देखिँदै आएका नेता हुन् ।
त्यस्तै ओलीलाई पेलेको संज्ञा दिने कृष्ण गोपाल श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । श्रेष्ठले पार्टीको चौँथो महाधिवेशनदेखि निरन्तर सक्रिय रहेको र सचिव पदका लागि दाबी गर्दा पटक९पटक नाम काटिएको गुनासो गरेका छन् ।
महाधिवेशनमा सबैभन्दा पेचिलो विषय प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ बनेको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेको उपाध्यक्ष पद अस्वीकार गरेसँगै संस्थापन पक्ष नै असहज अवस्थामा पुगेको हो ।
ज्ञवालीलाई मनाउन भएका प्रयासका कारण निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समयसमेत पटक–पटक सार्नुपरेको थियो । प्रारम्भिक सूचीप्रति असन्तुष्टि जनाउँदै उनी उम्मेदवारी मनोनयन स्थलमा अनुपस्थित रहे ।
अपराह्न भृकुटीमण्डप पुगेका ज्ञवालीलाई विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूले सम्झाउने प्रयास गरे पनि उनी अडानबाट टसमस भएनन् । अन्ततः प्रस्तावित उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमै सीमित रहने निर्णय उनले गरे ।
१०औँ महाधिवेशनपछि पार्टी स्कूल विभागको जिम्मेवारी सम्हालेका ज्ञवालीले देशभर पार्टी स्कूल सञ्चालन गर्दै संगठन विस्तारमा सक्रिय भूमिका खेलेका थिए । यसअघि उपमहासचिव रहेका उनले महासचिवमा दाबी प्रस्तुत गरेका थिए ।
ज्ञवालीको असन्तुष्टिले ओली समूह मात्र होइन, समग्र एमालेभित्रै तरंग सिर्जना गरेको छ । यही अवस्थालाई अवसरका रूपमा लिँदै ईश्वर पोखरेल समूहले प्रभावशाली नेता सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाएको छ । संस्थापन पक्षको आन्तरिक असन्तुष्टिले पोखरेल समूहलाई थप आशावादी बनाएको देखिन्छ ।











