Logo
Logo

मध्यरातमा ज्ञवालीसहित नेतालाई फकाउने ओलीकाे योजना असफल


7.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट कम्तीमा एक दर्जन नेताहरूले उनको साथ छाडेर हिँडेपछि मध्यरातमा ओली पक्षले फकाउने कोसिस गरे पनि असफल भएको छ ।

राती ३ बजेसम्म महासचिव शंकर पोखरेलले असन्तुष्ट नेताहरूसँग समन्वय गरेको भए पनि असफल भएका छन् । ओलीलाई साथ दिएका उपमहासचिव प्रदीप ज्ञवालीसहित कम्तीमा १० जना प्रभावशाली नेताहरूले सोमबार साथ छाडेका थिए । 

ज्ञवालीलाई फकाउनका लागि ओलीले पनि प्रयास गरेका थिए । बिहानै सूर्य थापा र राजेन्द्र अर्यालले पनि ज्ञवाली निवास पुगेका थिए । ज्ञवाली अहिले ओलीप्रति सकारात्मक बन्न सकेका छैनन् । महासचिव पोखरेलप्रति झन् अनुदार बनेका छन् ।  

उम्मेदवारी मनोनयनमा कुरा नमिलेपछि ओलीको साथ छाडेका उनीहरूमध्ये केहीले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । वर्चस्वमा रहेको ओली समूह तितरबितर भएको र यसको असर मतदानमा देखिने भृकुटीमण्डपमा भेट भएका प्रतिनिधिहरूले बताएका छन् ।

ज्ञवाली ओलीले दिएका केही जिम्मेवारीले उनी महासचिव उम्मेदवार बन्न पाइनेमा आशावादी थिए । मंसिर २७ गते एघारौँ महाधिवेशनको उद्घाटन सत्रको सञ्चालक ज्ञवाली थिए । त्यसअघि भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदन पनि ज्ञवालीले नै पढेका थिए ।

२०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनमा ओलीको प्रतिवेदन पढेका शंकर पोखरेललाई ओलीले दसौँ महाधिवेशनमा स्थायी कमिटीबाट सिधै महासचिव बनाएकाले पनि ज्ञवालीको सम्भावना नकार्न सकिँदैनथ्यो ।

एघारौँमा आइपुग्दा अहिले ओलीले महासचिवमा पोखरेललाई नै दोहर्‍याए । बरु उनीभन्दा वरीयतामा माथिल्लो पद उपाध्यक्षमा ज्ञवालीलाई राख्ने गरी उम्मेदवारी नामावली तयार पारे । जुन उनको चाहना विपरीत थियो । 

आठौँ महाधिवेशनदेखि ओलीलाई साथ दिएका ज्ञवालीले गरेको यो भद्र विद्रोह नै थियो । अहिले बिहान भृकुटीमण्डपमा ज्ञवालीकै चर्चा भइरहेको छ । अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि महासचिव बन्न चाहन्थे । तर, उनलाई ओलीले उपाध्यक्षमा राजी गराएपछि विष्णु पौडेल उपाध्यक्षमा सीमित भएका छन् । 

उनी उपाध्यक्षमा सीमित हुँदा महासचिवमा सुरेन्द्र पाण्डेको पल्लाभारी बढिरहेको छ । उपाध्यक्षहरुमा गोकर्ण विष्ट, बिन्दा पाण्डेले सहजै जित्ने प्रतिनीधिहरुको भनाई छ । 

यसै गरी उपमहासचिवमा योगश भट्टराईले पनि सहजै जीत निकाल्ने उनीहरूको दाबी छ । रचना खड्का, विनोद ढकाल, ठाकुर गैरे, गोकुल बास्कोटा पनि जीतको सूचीमा रहेका छन् । उता महेश बस्नेतलाई पनि जित्ने सूचीमा राखेर प्रतिनिधिहरूले हेरिरहेका छन् ।

अग्नि खरेल, भीम आचार्य, कृष्णगोपाल श्रेष्ठ, काशीनाथ अधिकारी, राजेन्द्र गौतम, रघुजी पन्त र लालबाबु पण्डित लगायत नेताले पनि छुट्टै उम्मेदवारी दिएपछि ओली पक्षमा ठूलै भूकम्प गएको छ । आनन्द पोखरेलले उपमहासचिव उम्मेदवारी दिएपछि अर्को भूकम्प गएको छ । 

बालकृष्ण सिवाकोटीको नाम शंकर पोखरेल र भानुभक्त ढकालले काटेपछि उनी पनि रुष्ट देखिएका छन् । ओलीले नबिना लामालाई सूचीमा नराखेपछि उनी रुँदै निस्केकी थिइन । विधान संशोधन गरे, तर नेता मिलाउन सकेनन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा फर्किएर राजनीति गर्ने र अध्यक्ष नै लड्ने घोषणा गरेपछि ओली र उनी पक्षीय केही नेता रोक्ने प्रयासमा लागेपछि अर्को बबन्डर देखिएको छ । उता सोलुमा मानवीर राईलाई शेरधनले च्यापेपछि बुद्धिकुमार राजभण्डारीले विद्रोह गरेका छन् । सोलुका प्रतिनिधि मात्र होइन पूर्वका प्रतिनिधिहरूले भण्डारीलाई साथ दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्