काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनंकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुनंकर्मीले २०५४/११/०१ देखि २०८०/०८/१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४४४.२० मात्र आर्जन गरेका थिए ।
तर सो अवधिमा मुनंकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९६१.३९ खर्च गरेको देखियो । यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५१७.१९ बढी भएको पाइएको छ ।
उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको छ ।
उनले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको छ । मुनंकर्मी र उनको श्रीमती पूर्ण केशरी गोसाईमाथि बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
बिनेशविरुद्ध २ करोड ५० लाख ३४ हजार ५ सय रुपैयाँ बिगो माग दाबी गरिएको छ । साथै जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ। त्यस्तै श्रीमती पूर्ण केशरीलाई प्रतिवादी कायम गरिएको छ।











