काठमाडौं । नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले यो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामूहिकतामा विश्वास रहेको बताउँदै नेतृत्व हस्तान्तरण र रूपान्तरण हुनुको विकल्प नरहेको बताए ।

उनले भने, ‘मूल नेतृत्वमा दुई जनाबीच प्रतिस्पर्धा छ । म पार्टीलाई सामूहिक ढङ्गले चलाउनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्दछु । महाधिवेशन प्रतिनिधिहरूले एउटा न्यायोचित फैसला गर्नुहुन्छ ।’
नेतृत्व रूपान्तरणको लागि आफूहरूले दुई कार्यकालको विषय उठाएको बताउँदै उनले भने, ‘लोकतान्त्रिकीकरण भनेर पार्टी अध्यक्षले अगुवाइ गर्नुभएको थियो त्यसमा दुई कार्यकालका कुरा थिए । त्यो दुई कार्यकालको कुरो अहिले पनि लागू हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो, हाम्रो जोड थियो । यद्यपि विधान महाधिवेशनले त्यसलाई उल्टायो। फेरि पनि लोकतान्त्रिक अभ्यासलाई स्वस्थ मर्यादित भावनाका साथ सम्पन्न गर्नुपर्छ ।’
उनले हजारौँ लाखौँ कार्यकर्ता नेताहरूको योगदान, रगत र पसिनालेएमाले पार्टी आजको दिनसम्म आइपूगेको बताउँदै भने, ‘लाखौँ जनताहरूको साथ, सहयोग, समर्थनले यहाँसम्म आइपुगेको छ । २२६२ जना प्रतिनिधि साथीहरू सहभागी हुनुहुन्छ। सबै प्रतिनिधि साथीहरूले एउटा जिम्मेवार पूर्ण फैसला गरेर पार्टीलाई रूपान्तरण र नेतृत्वलाई हस्तान्तरण गर्नुहुन्छ ।’
उनले मतदान ढिलाइ भएपनि आफूहरूले केही समय अगाडि निर्वाचन आयोगमा गएर निर्वाचन छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेको पनि बताए । उनले भने, ‘निर्वाचन ढिला गर्न हुँदैन भनेर निर्वाचन आयोगलाई भनेका छौँ । उहाँहरूले अब केही समयभित्र हामी सुरु गर्छौँ भन्नुभएको छ, तयारीमा हुनुहुन्छ । निर्वाचन ढिलो गर्ने कुरा उपयुक्त होइन ।’











