Logo
Logo

अन्तरराष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाइँदै


630
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि सप्ताहव्यापी रूपमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ ।

The current image has no alternative text. The file name is: aprawasan.jpg

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव डा. कृष्णहरि पुस्करले हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तरराष्ट्रिय आप्रवासन दिवस यस वर्ष नेपालमा पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको जानकारी दिए ।

उनले विभिन्न रचनात्मक र सन्देशमूलक गतिविधि गरेर दिवसलाई अर्थपूर्ण बनाइने बताए । यसै क्रममा मङ्गलबार पत्रकार सम्मेलन र पत्रकारबीच वैदेशिक रोजगार र आप्रवासनका विषयमा छलफल भएको छ । बिहीबार मुख्य दिवस मनाइनुुका साथै ७ गतेसम्म निरन्तर गतिविधि सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भनेर दिवसको राष्ट्रियस्तरको नारा तय गरिएको छ ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले दिवसलाई प्रभावकारी रूपमा मनाउन सरोकार भएका सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्था तथा सम्बन्धित सङ्घ, संस्थाहरूको सहभागितामा विभिन्न कार्यक्रम गर्ने कायैसूची रहेको बताए ।

कार्यक्रमको समन्वय तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा मूल समारोह कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा मन्त्रालयअन्तर्गतका निकाय, बोर्ड तथा कोष, विकास साझेदार संस्था तथा सरोकार भएका सरकारी तथा गैरसरकारी सङ्घ, संस्थाको प्रतिनिधित्व रहेको छ ।

दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगहरू, प्रदेश र स्थानीय तहलाई विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पत्राचार गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

सप्ताहभरि सचिवस्तरीय सन्देशहरू सामाजिक सञ्जालमार्फत प्रवाह गरिनुका साथै पत्रकारहरूसँग अन्तरक्रिया, रक्तदान तथा स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, वाकाथन, अन्तरक्रिया कार्यक्रम, वादविवाद प्रतियोगिता, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्