Logo
Logo

बहुप्रतिक्षित मेची पुल उद्घाटन : छैसठ्ठी वर्षदेखिको सपना पूरा


- दृष्टि न्युज/संवाददाता


झापा , १८ माघ ।

प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गरेका छन् । बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् ।

धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा सङ्कलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले आज साँझ पुलको पश्चिमी मुखमा रिबन काटेर पुलको उद्घाटन गर्नुभयो । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गरेको हो । “लामो समयदेखि प्रतीक्षा गरिएको मेची पुलको निर्माण मेरो पनि सपना थियो”, प्रधानमन्त्री ओलीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, “विसं २०१९ तिर रेल हेर्नका लागि म यहीँबाट मेची खोला तरेर गलगलिया गएको थिएँ ।”

ओलीले पुलको पूर्वी भागसम्म भारतीय सडकलाई तत्काल जोड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीसँग अनुरोध गर्नेसमेत बताए। अब आफूले जस्तो रेल हेर्नका लागि खोलो तरेर भारततिर जानु नपर्ने र आफ्नै कार्यकालमा पूर्वपश्चिम रेल दौडाउने सपना साकार पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्