
भैरहवा । नेपाल भारत ७० किलोमिटर खुल्ला सिमाना जोडिएको रुपन्देहीमा साना हातहतियारको दुरुपयोग हुन सक्ने भन्दै रुपन्देही प्रहरीले त्यसतर्फ विशेष सजगता अपनाई अप्रेसन नै शुरु गरेको छ ।
सीमावर्ती क्षेत्र रुपन्देहीमा भइपरी आउन सक्ने खतरालाई चिर्न रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीको विशेष योजनामा विशेष टोली नै परिचालन गरी साना हतियार खोजी कार्य सुरु गरिएको हो ।
यसैबिच प्रहरीको विशेष टोलीले २ थान कटुवा पेस्तोल, २ थान के.एफ स्पेशियल लङ रेन्ज कार्टिज २ थान, ५ थान गोली, १ थान खुकुरी बरामद गरेको छ ।
हतियार सहित प्रहरीले भारत सिद्धार्थनगर ढिहवा बस्ने ५२ को रमजान खान र वर्ष ४२ को सञ्जय पाशीलाई रुपन्देहीको गैडहवाबाट पक्राउ गरेको हो ।
प्रहरीले रुपन्देही जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने अभियान सहित थालेको अभियानमा ती व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बैङ्किङ ठगी कसुरमा नक्कली सुन बैङ्कमा धितो राखी ठगेको अभियोगमा ९ जनालाई पक्राउ गरेको थियो ।
गोर्खा फाइनान्स लिमिटेड पडसरी शाखामा नक्कली सुन धितो राखेर ठगी गरेको अभियोगमा सिद्धार्थनगर वडा नम्बर ८ का आदित्य राना, राजु राना, तिलोत्तमा वडा नं ८ बस्ने भुमिसरा सुनार, चन्द्र बहादुर सुनार, तिलोत्तमा ६ बस्ने गायत्री पाण्डे मगर, विकास थापा, प्रकाश भट्टराई, तिलोत्तमा ५ का मनिष आचार्य र तिलोत्तमा १४ का अनिल विकलाई पक्राउ गरेको हो ।
यसै गरी रुपन्देही प्रहरीले चोरी तस्करी नियन्त्रण कार्यमा पनि तदारुकता देखाएको छ । सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको भएता पनि सीमाबाट अवैध रुपमा भन्सार छली नेपाल भित्रिएका विभिन्न सर समानहरू पक्राउ गरी भन्सार समेत बुझाएको छ । तुलनात्मक हिसाबले यो दर अत्यन्तै धेरै रहेको छ । गत वर्ष सोही अवधिमा भन्दा यस वर्ष राजस्व संकलन दर ३ गुना बढी रहेको देखिन्छ ।
एसपी प्रदीपले कमान्ड सम्हालेयता रुपन्देही प्रहरीले चोरी तस्करी नियन्त्रणको क्रममा १४ करोड ७२ लाख ३६ हजार ९ सय १३ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन् ।
जबकि गत वर्ष एक वर्षको अवधिमा जम्मा ५ करोड ९१ लाख ७६ हजार ९ सय १४ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । यसै गरी चोरी तस्करीमा संलग्न १ सय ९१ जना व्यक्ति, ३ वटा ट्रक, ११ वटा पिकअप, २ सय ६२ वटा मोटर साईकल, १० वटा अटो रिक्सा, २ वटा कार पनि पक्राउ तथा बरामद गरिएको छ । गत वर्ष सो अवधिमा रञ्जित सिंह राठौर जिल्लाको प्रहरी प्रमुख रहेका थिए ।
अनुशासनमा कडाइ
कुुनै बेला प्रहरी सेवामा रहेका अधिकृतदेखि जवान सम्मका प्रहरी कर्मचारीहरूको रोजाइको जिल्ला भनेर चिनिएको रुपन्देहीमा यति बेला प्रहरी प्रमुखको अनुशासनको डन्डा बर्सिन थालेपछि सरुवा, दरबन्दी मिलान वा काज गराएर आउनेहरू तर्सिन थालेका छन् ।
भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालय होस् वा बुटवलको इलाका प्रहरी कार्यालय होस, जहाँ भए पनि रुपन्देही जिल्ला प्रहरी कर्मचारीको लागि आकर्षक गन्तव्य मानिन्छ ।
बेलहिया इप्रका, बुटवल वडा, भैरहवा वडा देखि धकधई, देवदह, सालझन्डी, सुुर्यापुरा, लुम्बिनी, मर्चवार, बेथरी, मङ्गलापुर जस्ता महत्त्वपूर्ण ईलाका प्रहरी कार्यालयमा पनि सरुवा, दरबन्दी मिलान वा काज गराएर जानेहरूको होडबाजी नै चल्ने गर्दथ्यो । तर समय फेरिएसँगै यति बेला रुपन्देही जिल्लामा सरुवा, दरबन्दी मिलान वा काज गराएर आउनेहरूको संख्या घट्दै गएको छ ।
जिल्लामा प्रहरी आचरण विरुद्ध काम गर्ने, अतिरिक्त कमाउने सोचले आउनेहरू भटाभट कार्यालय प्रमुखको कारबाहीमा पर्न थालेपछि सोर्स फोर्स लगाएर आउनेहरू पनि हच्किन थालेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गृह प्रदेश समेत रहेको लुम्बिनीको रुपन्देहीमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका एसपी प्रदीप बहादुर क्षेत्रीले गलत काम गर्ने कसैलाई पनि नछाड्ने नीति अङ्गीकार गरेपछि प्रहरी भित्र नै हलचल मच्चिएको हो ।
रुपन्देहीमा प्रहरी अनुशासन र आचरण विपरीत काम गरेको भन्दै प्रहरी निरीक्षक देखि कार्यालय सहयोगी सम्म कारबाहीमा पर्नुले उक्त कुराको पुष्टि गरेको छ ।
एसपी क्षेत्रीले प्रहरी भित्रको शुद्धीकरण र आचरण विपरीत काम गर्ने जुन दर्जाको प्रहरी कर्मचारी भएता पनि कारबाही गर्ने गरी अनुशासनको डन्डा लगाउन थालेका छन् । प्रहरी आचरण विरुद्ध काम गर्नेलाई कारबाही गरिएको संक्षिप्त प्रतिक्रिया दिएका उनले सकारात्मक भावको साथ आफ्नो तहबाट सकेको राम्रो काम गरिरहेको बताए ।
रुपन्देही प्रहरीमा आफ्नै कार्यालयमा काम गर्ने सहकर्मीलाई पनि कारबाही गर्न थालेपछि पछिल्लो समय रुपन्देही प्रहरीमा हल्ली खल्ली नै मच्चिन थालेको छ ।
प्रहरी आचरण विरुद्ध काम गर्ने प्रहरीहरूलाई कार्यालय प्रमुखले कारबाही गर्न थालेपछि रुपन्देही प्रहरीमा हङ्गामा मच्चिएको हो । प्रहरी आचरण विपरीत काम गरेको अभियोगमा एक जना प्रहरी हवलदार, चार जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । यसै गरी २ जना प्रहरी हवलदार र एक जना जवानको बढुवा रोक्का गरिएको छ ।
यसै गरी २ जना प्रहरी हवलदार र ५ जना जवानको तलब बृद्धि घटुवा भएको छ । रुपन्देही प्रहरीमा २ जना प्रहरी सहायक निरीक्षक, ४ जना वरिष्ठ प्रहरी हवलदार, ३ जना हवलदार, १ जना सहायक हवलदार र ५ जना जवानलाई नसिहत दिएको छ । यसै गरी रुपन्देही प्रहरीमा १ जना प्रहरी निरीक्षकलाई सचेत गराइएको छ । त्यसै गरी २ जना प्रहरी सहायक निरीक्षक, ३ जना प्रहरी हवलदार र ५ जना प्रहरी सहायक हवलदारलाई सचेत गराइएको छ ।
यसै गरी १ जना प्रहरी हवलदार, १ जना जवान र १ जना कार्यालय सहयोगीलाई सेवाबाट हटाउने समेत काम भएको छ । करिब १२ वर्ष अगाडी विक्रम सिंह थापा रुपन्देहीको एसपी भएको बेला प्रहरी आचरण विरुद्ध काम गर्ने अधिकृतदेखि जवान सम्मलाई सार्वजनिक ठाउँमै पिटेर कारबाही गर्ने गर्दथे ।
हिन्दी फिल्मको ‘सिंघम एसपी’ भनेर चर्चा कमाएका तत्कालिन एसपी विक्रम सिंहलाई सफल बनाउन तत्कालीन अवस्थामा प्रहरी निरीक्षक रहेका थापा फिल्ड कमान्डरको रुपमा खटिएका थिए । त्यति बेला तिनाउ –दानव मा हुने नदीजन्य पदार्थको अवैध उत्खनन र भलबारीस्थित आयल निगमको डिपोको पेट्रोलियम पदार्थको चोरी तस्करीलाई उजागर गरेर वाहवाही त कमाएका ‘सिंघम एसपी’ विक्रमको फिल्ड कमान्डर प्रदीपले यति बेला रुपन्देहीको कमान्ड सम्हाले यता अपराध नियन्त्रणमा पनि उल्लेख्य प्रगति भएको देखिन्छ ।











