
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन् ।
मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको प्राविधिकहरुले बताएका छन् । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालले बताए ।
एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् । एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र इश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।











