Logo
Logo

एमालेमा खुलेर लागिन् ज्योति मगर, मुस्कुराउँदै ओलीसँग गरिन् फोटोसुट


315
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया जारी छ। चौथो दिनपछि मात्रै मतदान सुरु भए पनि महाधिवेशन स्थलमा मतदानसँगै प्रचार–प्रसारसमेत समानान्तर रूपमा चलिरहेको छ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल सँगसँगै हिँड्दै मत मागिरहेको दृश्य पनि देखिएको छ। उनीहरूका पक्षमा मत माग्ने नेता तथा कार्यकर्ताहरू पनि सक्रिय छन्।

यही क्रममा गायिका ज्योति मगर पनि महाधिवेशनमा सक्रिय रूपमा देखिएकी छन्। मंगलबारदेखि नै उनी बन्दसत्र स्थल भृकुटीमण्डपमा उपस्थित हुँदै विभिन्न गतिविधिमा सहभागी हुँदै आएकी छन्।

मंगलबार जनजातिहरूको एउटा समूहले आफ्नो समुदायका उम्मेदवारहरूको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यही प्रदर्शनमा सहभागी भएकी ज्योति हातमा पूर्ण गुरुङको पोस्टर लिई उनलाई जिताउन भोट माग्दै थिइन् ।

जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरेका थिए । ज्योति पनि नाच्दै उक्त नारावाजीमा साथ दिइरहेकी थिइन् ।

मंगलबार विभिन्न उम्मेदवारका पक्षमा मत मागेकी ज्योति मगरले आज अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीसँग सँगै फोटोसुट गरिन् । सार्वजनिक तस्बिरमा दुवै मुस्कुराउँदै देखिएका छन्।

भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनपछि सामाजिक सञ्जालमार्फत राजनीतिक विचार व्यक्त गर्न थालेकी ज्योति मगर महाधिवेशनयता भने एमालेको पक्षमा खुलेरै सक्रिय देखिएकी छन् । उनका पछिल्ला अन्तरवार्ताहरूमा एमाले र केपी शर्मा ओलीप्रति सदासयता प्रकट हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्