Logo
Logo

बालेन लक्षित ओलीको टिप्पणी-देश बनाउँछु भन्नेहरू नै नशामा भेटिन्छन्


315
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा रहेका तथा चर्चामा रहेका केही व्यक्तिहरू नै नशालु पदार्थको प्रभावमा भेटिने गरेको आरोप लगाएका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित सो टिप्पणी गरेका हुन् । 

बिहीबार एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,’देशका चर्चित भनिएकाहरू नशामा भेटिन्छन् । चर्चामा ल्याउन खोज्नेहरू पनि छन्, त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् ।’ उनले आफ्नो भनाइलाई कसैले इखको रूपमा लिएर लागूपदार्थको दुर्व्यसन त्यागेमा आफू निकै खुसी हुने बताए । 

उनले भने, ‘मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुनेछु ।’अध्यक्ष ओलीले अन्य दल वा समूहका कार्यक्रममा मादक पदार्थ सेवन गरेर झगडा-मारामारको स्थिति आउन सक्ने बताउँदै एमालेका कार्यकर्ताहरूको भने विशेष प्रशंसा गरे । उनले भने,’अरू पार्टीको कार्यक्रम हुन्थ्यो भने आपसमै मारामार हुन्थ्यो होला। कति केही तानेर, केही पिएर, के के गरेर सोत्राम परिसकेका हुन्थे होला । तर हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसन देखिएन ।’

उनले स्वयंसेवकहरूको नजिकबाट जाँच गर्दा कसैबाट पनि खैनी, चुरोट वा अन्य लागूपदार्थको गन्ध नआएको दाबी गरे । ठट्टाको शैलीमा उनले भने,’खैनी ओठमा लुकाएको छु भन्ने पर्छ तर पर-पर बास्ना छरिरहेको हुन्छ । तर कसैको छेउमा पुग्दा पनि खैनी गनाएको भेटिएन । अरू लागूपदार्थको त कुरै भएन ।’ 

पछिल्लो समय युवाहरूमा सही आचरण र अनुशासनको कमी मुलुककै ठूलो समस्या बन्दै गएको औँल्याउँदै ओलीले एमालेका स्वयंसेवकहरूले भने उच्च आदर्श, कर्तव्यनिष्ठा र अनुशासित व्यवहार प्रदर्शन गरेकोमा सन्तोष व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्