काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी दिन अहिलेसम्म ४५ राजनीतिक दलले ५० हजार धरौटीसहित बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्म शीर्ष दलसहित ४५ दलले धरौटी बुझाएपछि बन्दसूची पेस गरेका हुन् ।
धरौटी बुझाउने सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो नम्बरमा रहेको छ भने अन्तिममा नेशनल रिपब्लिकन पार्टी रहेको छ । यसबाहेक नेपाली कांग्रेस, नेकपा, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा एमाले लगायतका दलले पनि बन्दसूची बुझाइसकेका छन् ।
निर्वाचन ऐनअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नु अघि राजनीतिक दलले ५० हजार धरौटी बुझाउनुपर्ने व्यवस्था छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अझै आयोगको कार्यालयमा पुग्न सकेको छैन ।












