Logo
Logo

विवादमा काठमाडौंका एसएसपी, ठगलाई संरक्षण गरेको आरोप, घुमुवा पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ ।
काठमाडौंका एसएसपी बसन्त लामा विवादमा तानिएका छन् । ठगीमा संलग्नहरुलाई संरक्षण गरेको तथा कमाण्ड गर्न नसकेको आरोप उनीमाथि लागेको छ ।


ठगी आरोप लागेका दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालक उनले संरक्षण गरेको आरोप लागेको छ । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरू खुलेआमरूपमा बजारमा हिँडिरहेका छन्।
सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीकोमा गएको भए पनि प्रहरीले भने झुलाउने र अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता नगरेको पाइएको छ।
प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउपुर्जी जारी गरेको भए पनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन्। क्लब डेजाभूका हालका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ, समीप सिलाकार, मनिस राजभण्डारी, रमन सिलाकार, मन्यक खड्कालगायतको टोलीसँग एसएसपी लामा मिलेका छन् ।
क्लब सञ्चालक मनोज श्रेष्ठसहितको टोलीले २ करोडको चेक दिएको भए पनि अहिलेसम्म उक्त चेक साटिएको छैन। चेक नसाटिएपछि श्रेष्ठले चेक बाउन्स र सामूहिक ठगी मुद्दामा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको भए पनि एसएसपी लामाको कारण उक्त मुद्दा अगाडि बढ्न सकेको छैन। पीडित श्रेष्ठले लामो समयदेखि कारबाहीका लागि एसएसपी लामासँग हारगुहार माग्दा पनि हुन्छ हुन्छ भन्ने तर काम नगरिदिएपछि पीडित श्रेष्ठ अहिले बिचल्लीमा परेका छन्।

प्रहरी परिसर काठमाडौंले नै पक्राउपुर्जी जारी गरेकामध्ये समीप सिलाकार, रमन सिलाकार, प्रतीक श्रेष्ठलगायतका टोलीसँग एसएसपी लामाले कार्यालयमै पटक पटक भेट गरेका छन्।
लामाका घुुमवा पक्राउ
उता लामाको घुमुवाको रुपमा काम गर्दै आएका दुईजना प्रहरी जवान भक्तपुरमा पक्राउ परेका छन् ।

मनहरा खोलामा मापसे गरेर हो–हल्ला गरेपछी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत सिंहदरबारमा कार्यरत मनोज धमलालाई भक्तपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत ठिमीको हिरासतमा राखिएको छ । प्रहरी जवान मनोज धमलालाई बसन्त लामाले आफ्नो घुमुवाको रुपमा काम गर्नेगरी महानगरीय प्रहरी वृत सिंहदरबारमा खटाएका थिए ।
नयाँ बसपार्कको फेक इन्काउन्टर घटनामा पनि एसएसपी लामा विवादमा तानिएका थिए । वाइसिएलका नेतालाई पक्राउ गरेर गोली हानेको आरोप उनीमाथि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्