
काठमाडौं । विश्व राजनीतिक इतिहासमा सन् २०२५ एक ‘उथलपुथलको वर्ष’ का रूपमा बिदा भएको छ ।
आजदेखि नयाँ वर्ष २०२६ सुरु हुँदै गर्दा बितेका ३६५ दिनमा विश्वले अमेरिकामा ट्रम्पको नाटकीय पुनरागमनदेखि जापानमा पहिलो महिला प्रधानमन्त्रीसम्म र नेपालमा अभूतपूर्व ‘जेनजी’ विद्रोहदेखि सिरियामा दशकौँ लामो तानाशाहीको अन्त्यसम्मका साक्षी बन्यो ।
यस्ता छन् ०२५ मा भएका प्रमुख राजनीतिक मोडहरू:
नेपालः ‘जेनजी’ आन्दोलनले पल्टाएको सत्ता समीकरण
नेपालको इतिहासमा सेप्टेम्बर ०२५ एउटा ऐतिहासिक मोड बन्यो । सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ता (जेनजी)ले गरेको २७ घण्टे विद्रोहले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गरिदियो । लोकतन्त्रको प्रतिक सिंहदरबार र संसद भवन जलेर खरानी हुँदा ७३ जना युवाले ज्यान गुमाए ।
यस संवैधानिक संकटलाई समाधान गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो । अहिले सरकार आउँदो फागुन २१ गते हुने आम निर्वाचनको तयारीमा जुटेको छ, जसलाई नेपालको राजनीतिमा ‘नयाँ युगको सुरुवात’ मानिएको छ ।
डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन
जनवरी २०२५ मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले । यो पुनरागमनलाई विश्वले निकै चासोका साथ हेर्यो । ‘अमेरिका फस्ट’ नीतिलाई पुनः ब्युँताउँदै ट्रम्पले विश्वव्यापी व्यापार, जलवायु सम्झौता र सैन्य गठबन्धनहरूमा व्यापक फेरबदल ल्याएका छन् । उनको दोस्रो कार्यकालले अमेरिकी शक्ति सन्तुलनमा नयाँ आयाम थपेको छ ।
साने ताकाइचीः जापानकी पहिलो महिला प्रधानमन्त्री
नोभेम्बर २०२५ मा साने ताकाइचीले जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेर कीर्तिमान रचिन् । पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजनीतिक विचारबाट प्रभावित ताकाइचीले जापानी सेनाको सुदृढीकरण र आर्थिक सुधारलाई प्राथमिकता दिएकी छिन् । ४६५ सदस्यीय तल्लो सदनमा पहिलो चरणमै बहुमत प्राप्त गरेकी ताकाइचीलाई जापानको ’आइरन लेडी’ भन्न थालिएको छ ।
सिरियामा नयाँ युगः अहमद अल–शाराको उदय
डिसेम्बर २०२४ मा बशर अल–असदको शासन पतन भएपछि २०२५ मा अहमद अल–शाराले सिरियाको पुनर्निर्माणको नेतृत्व गरे । दशकौँदेखि गृहयुद्धमा फसेको सिरियालाई अन्तर्राष्ट्रिय मूलधारमा ल्याउन उनले महत्वपूर्ण भूमिका खेले । सन् १९४६ पछि ह्वाइट हाउसको भ्रमण गर्ने पहिलो सिरियाली नेता बनेर उनले कूटनीतिक सफलता प्राप्त गरे । उनले देशमा बाथ पार्टी खारेज गर्दै नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढाएका छन्।
बेन्जामिन नेतान्याहू र गाजा युद्धविराम
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि २०२५ सबैभन्दा चुनौतीपूर्ण वर्ष रह्यो । इजरायलले सातवटा मोर्चाहरूमा युद्ध लड्नुपरे पनि नेतान्याहूले आफ्नो राजनीतिक पकड कायमै राखे । अन्ततः अक्टोबर २०२५ मा गाजामा युद्धविराम लागू भयो, जसले लामो समयदेखिको रक्तपातमा केही राहत दियो । यद्यपि, घरेलु विरोध र अन्तर्राष्ट्रिय दबाबका बीच उनको सत्ता टिकिरहनुलाई राजनीतिक वृत्तमा आश्चर्यका रूपमा हेरिएको छ ।
बुल्गेरिया र पेरुमा राजनीतिक अस्थिरता
बुल्गेरियाः भ्रष्टाचार र आर्थिक संकटका कारण प्रधानमन्त्री रोसेन झेलियाझकोभले राजीनामा दिनुपर्यो । यसले गर्दा २०२६ जनवरी १ (आज) देखि युरोजोनमा सामेल हुने बुल्गेरियाको लक्ष्य अन्योलमा परेको छ ।
पेरुः राष्ट्रपति दिना बोलुआर्टेलाई संसदले ’नैतिक रूपमा अनुपयुक्त’ ठहर गर्दै पदच्युत गर्यो। हाल जोसे ज्यारीले अन्तरिम राष्ट्रपतिको रूपमा देशको कमाण्ड सम्हालिरहेका छन्।
सन् ०२५ ले पुराना शक्तिहरूको पतन र नयाँ विचारहरूको उदय गराएको छ । यद्यपी, अब २०२६ मा भने यी परिवर्तनहरूले कस्तो स्थिरता पाउने हुन्, त्यो भने हेर्न बाँकी छ ।












