
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै राष्ट्रिय एकताको आह्वान गरेका हुन्।
अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको भन्दै खनालले विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’
नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउन सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने खनालको आह्वान छ ।












