
काठमाडौं । नवलपरासी पश्चिममा दुईजना मजदुर मृत भेटिएका छन् । बर्दघाट नगरपालिका–१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक नेपाली र एक जना भारतीय मजदुर आज बिहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बिहीबार बिहान बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
उनीहरू ग्यासी फायरमा रात्रीकालीन डिउटीमा खटिएका मजदुर रहेका प्रहरीले जनाएको छ । ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरूलाई मृत फेला पारिएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेले बताए ।
मृत फेला परेका दुवै मजदुरको शरीरमा कुनै पनि प्रकारको बाहिरी घाउचोट देखिएको छैन । मृतकका आफन्तले भने घटना शंकास्पद भएको दाबी गर्दै बिहानैदेखि उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












