काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय दिइने भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भने, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’
दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात् २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गरिने आयोगले जनाएको छ ।
आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि सम्बन्धित दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न समय पाउनेछन् ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ । आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।
माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । फागुन २१ गते मतदान हुनेछ ।












