काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको वर्तमान जटिल अवस्था, आन्तरिक द्वन्द्व र आगामी निर्वाचनको तयारीबारे गहन छलफल गर्न काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा अन्य महत्त्वपूर्ण नेताहरूसँग अन्तरक्रिया गरेका छन् ।

विशालनगरस्थित उनको सम्पर्क कार्यालयमा आयोजित उक्त बैठकमा हालको विषम राजनीतिक परिस्थितिको उपयुक्त निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान तथा पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई सुरक्षित र सम्मानजनक तरिकाले कसरी समाप्त गर्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको हो ।
बैठकमा त्यसैगरी, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको हालैको बैठकले गरेको निर्णय तथा महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको प्रस्तावलाई कसरी समन्वय र व्यवस्थापन गर्ने भन्ने विषयमा पनि नेताहरूबीच गम्भीर बहस भएको जनाइएको छ । बैठकमा आगामी आम निर्वाचनमा पार्टी पङ्क्तिलाई पूर्ण रूपमा एकताबद्ध बनाएर कसरी अघि बढ्ने भन्नेमा विशेष जोड दिइएको थियो ।
पार्टीभित्रका दुवै पक्षलाई एकसूत्रमा बाँध्ने र एकताको वातावरण निर्माण गर्ने सम्भावित उपायहरूबारे पनि व्यापक छलफल गरिएको थियो । यसका साथै, हालै पार्टीको केन्द्रीय अनुशासन समितिले गरेका कारबाहीहरूको फुकुवाका सम्बन्धमा पनि सहभागी नेताहरूले जोडदार माग राखेका थिए । कारबाहीमा परेका व्यक्तिहरूलाई उनीहरूले पहिले भएको पदमा नै निरन्तरता दिनुपर्नेमा सबैको सहमति देखिएको छ । उपस्थित सम्पूर्ण नेताहरूले आगामी आम निर्वाचनमा पार्टी एक भएर अघि बढ्नु अहिलेको समयको महत्त्वपूर्ण आवश्यकता तथा अनिवार्यता रहेकोमा पूर्ण एकमत व्यक्त गरेका छन् ।












