
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् ।
जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्ड पहिलोपटक दिल्ली जान लागेका हुन् ।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि नै स्वदेश फर्किनेछन् ।
फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भएका छैनन् ।
प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।












