
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो मात्रामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिएपछि पूर्व उपराष्ट्रपति कमला ह्यारिसले यसको कडा आलोचना गरेकी छन् ।
शनिबार बिहान भएको यस आकस्मिक सैन्य कारबाहीपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ह्यारिसले ट्रम्प प्रशासनको यो निर्णयलाई ‘लापरबाहीपूर्ण र खतरनाक’ कदमको रूपमा चित्रण गरेकी छन् ।
‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा किफायती बनाउँदैन,’ उनले भनेकी छन्, ‘मदुरो एक क्रूर, अवैध तानाशाह हुन् भन्दैमा यो कार्य गैरकानूनी र मूर्खतापूर्ण थियो भन्ने तथ्यलाई परिवर्तन गर्दैन ।’
उनले थप भनेकी छन्, ‘हामीले यो चलचित्र पहिले पनि हेरेका छौँ । शासन परिवर्तनका लागि युद्धहरू वा तेल जुन शक्तिको रूपमा बेचिन्छन् तर अराजकतामा परिणत हुन्छन्, र अमेरिकी परिवारहरूले मूल्य चुकाउँछन् । अमेरिकी जनता यो चाहदैनन्, उनीहरू झूट बोल्दा–बोल्दा थाकेका छन् ।’
उनले लागूपदार्थ वा लोकतन्त्रको बारे नभई तेल र क्षेत्रीय शक्तिशाली व्यक्तिको भूमिका निर्वाह गर्ने डोनाल्ड ट्रम्पको इच्छाको बारेमा यो प्रकरण भएको बताएकी छन् ।
उनले यी दुवै कुराको वास्ता थियो भने मदुरोका साथीहरूसँग सम्झौता गर्दै गर्दा दोषी ठहरिएका लागूऔषध तस्करलाई माफी दिने वा भेनेजुएलाको वैध विपक्षीलाई किनारा लगाउने विषय नबन्ने बताएकी छन् ।
उनको टिप्पणी छ, ‘राष्ट्रपतिले सेनालाई जोखिममा पार्दै, अर्बौँ खर्च गर्दै, क्षेत्रलाई अस्थिर बनाउँदै र कुनै कानूनी अधिकार, कुनै निकास योजना र घरमा कुनै फाइदा प्रदान नगर्ने काम भइरहेको छ ।’
उनले अमेरिकी नेतृत्वबारे लेखेकी छन्, ‘अमेरिकालाई त्यस्तो नेतृत्व चाहिन्छ जसको प्राथमिकता कानूनको शासन लागू गर्ने, गठबन्धन सुदृढ पार्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा चैँ अमेरिकी जनतालाई प्राथमिकता दिने हो ।’
ह्यारिससँगै अन्य धेरै डेमोक्रेटिक नेताहरू र लस एन्जलसका मेयर करेन बास जस्ता व्यक्तिहरूले पनि उक्त सैन्य कारबाहीको विरोध गरेका छन् । ह्वाइट हाउस बाहिर मादुरोको समर्थन र अमेरिकी हस्तक्षेपको विरुद्धमा प्रदर्शनहरू समेत सुरु भएका छन्।












