
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको विरोध गरेका छन् । अमेरिकाले सैन्य आक्रमण गरि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर हिरासतमा लिएपछि सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो घटना आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने बताएका हुन् ।
‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो,’ पोखरेलले भनेका छन्, ‘यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।’
मादुरोलाई कब्जामा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउँदै अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने घोषणा गरेका छन् ।
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताएका छन्।












