
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारु राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ ।
मूल आयोजक समितिका संयोजक एवम् थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे ।
त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारुहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे । उनले संविधान बनेको १० वर्षमा पनि थारुको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गरे ।
प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन्। उनले भनिन्, ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो ? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।’
यो देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उनको भनाइ थियो ।












