Logo
Logo

मादुरो दम्पतीलाई आज अदालत उपस्थित गराइँदै


756
Shares

एजेन्सी । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ ।

मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो । यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ ।

मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ । अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजे सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन् ।

अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ । यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्।

मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ । उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्