
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेतालाई नियन्त्रणमा लिएपश्चात् कोलम्बियाका समकक्षी गुस्तावो पेट्रोलाई धम्की दिएका छन् । आइतबार साँझ एयर फोर्स वन विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले क्युबाको सरकार पनि चाँडै ढल्ने सम्भावना रहेको बताएका हुन् ।
उनले ‘कोकिन (लागुऔषध) बनाउन र अमेरिकालाई बेच्न मन पराउने बिरामी व्यक्तिले सञ्चालन गरेको भेनेजुएला धेरै बिरामी छ । कोलम्बिया पनि धेरै बिरामी छ र उसले अब लामो समयसम्म यसो गर्ने छैन । म तपाईंहरूलाई भन्छु ।’
कोलम्बियामा अमेरिकी अपरेसनको अर्थ के हो भनेर प्रश्न गर्दा ट्रम्पले भने, ‘मलाई राम्रो लाग्छ ।’ क्युबामा अमेरिकी सैन्य हस्तक्षेप निश्चित रहेको भन्दै उनले त्यो देश आफैँ ढल्न तयार देखिएको टिप्पणी गरे ।
‘क्युबा ढल्न तयारजस्तो देखिन्छ । उनीहरूले कसरी सम्हाल्न सक्छन्, मलाई थाहा छैन । तर, क्युबामा अहिले कुनै आय छैन । उनीहरूको सबै आय भेनेजुएलाबाट, भेनेजुएलाको तेलबाट आउँथ्यो,’ ट्रम्पले भने ।
उनले थप अगाडि भने, ‘उनीहरूले केही पनि पाएका छैनन् । क्युबा साँच्चै खस्न तयार छ । र, तपाईंसँग धेरै उत्कृष्ट क्युबाली–अमेरिकीहरू छन्, जो यसबाट धेरै खुसी हुनेछन् ।’
अमेरिकी सेनाले काराकासमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अपहरण गरी हिरासतमा लिएको एक दिनपछि ट्रम्पले यस्तो बताएका हुन् ।
भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नी सिलिया फ्लोरेसलाई अब न्युयोर्कमा लागुऔषधसँग सम्बन्धित अभियोगमा अदालतमा हाजिर गराइनेछ ।












