काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका बारेमा आफ्नो पुरानो दाबीलाई दोहो¥याएका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको बताएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनी यो कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गरेका थिए ।
प्रचण्डले भने, ‘भदौ २६ गते राति म र कमरेड माधवकुमार नेपाललाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभरि निकै मिहिनेत गरेर उत्पन्न संशयपूर्ण वातावरणलाई हटाउने र देशलाई क्रमशः सामान्य अवस्थातर्फ फर्काउने प्रयास ग¥यौं ।’
त्यतिबेला कामचलाउ प्रधानमन्त्री केपी ओली नै थिए र उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बन्ने समझदारी भएको प्रचण्डले बताए । त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको उनको दाबी छ । ‘तर सुरुदेखि नै संसद् विघटन गर्ने सहमति भएको थिएन । सबैका आ-आफ्ना धारणा थिए । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी सुशीला कार्की सरकारको सिफारिसमा संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गर्नुभयो,’ प्रचण्डले भने ।












