Logo
Logo

मोहनचन्द्र फाउन्डेसन स्थापना


441
Shares

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष अर्थात् नेल्सन मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारीको नाममा फाउन्डेसन स्थापना भएको छ । मोहनचन्द्र अधिकारी फाउन्डेसनको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गत शनिवार गरेका हुन् ।  

सो अवसरमा बोल्दै अधिकारीले ‘आफू दुःखी, गरिब, हली, गोठालोको मुक्तिका लागि कम्युनिष्ट आन्दोलनमा होमिएको भए पनि गरिब किसान, मजदूर र श्रमिकको जीवनमा आजसम्म सुधार नभएकोमा दुःख लागेको बताए । 

उनले भने ‘नेपाली जनताको बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि जनताले सुख नपाएकाले सच्चा कम्युनिष्टहरू गरिबी, अभाव, पछौटेपनविरुद्ध लड्नुपर्नेछ ।’ पटक पटक कम्युनिष्ट नेताहरू प्रधानमन्त्री भए पनि गरिब किसान, मजदूरहरूको समस्या समाधान नभएकोमा गुनासो गर्दै कम्युनिष्ट नेताहरू नै भ्रष्टाचारमा मुछिनु राम्रो नभएको बताए । उनले अहिले राष्ट्रिय एकता, सार्वभौमिकता कमजोर हुँदै गएकाले सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । 

उनले फाउन्डेसनको माध्यमबाट समाजसेवा गर्ने इच्छा जागेकाले ८८ वर्षको उमेरमा फाउन्डेसन स्थापना गरेको बताए । 
सो अवसरमा एमाले नेता युवराज ज्ञवाली, पुराना कम्युनिष्ट नेता विश्वनाथ भट्ट, चन्द्रागिरी नगर कमिटी एमालेका अध्यक्ष उत्तम राउत, कोकेका तत्कालीन सचिव र जनकवि भोला बरालले बोलेका थिए । 


को हुन् मोहनचन्द्र अधिकारी ?
झापा आन्दोलनका योद्धामध्ये एक हुन् मोहनचन्द्र अधिकारी । ‘सामन्त सफाया’ गर्न भन्दै २०२८ सालमा झापाका कम्युनिस्ट युवाले गरेको विद्रोहका अगुवा मोहनचन्द्र २०३० सालमा पक्राउ परेर २०४६ सालमा पुसमा रिहा भएका हुन् ।

राजनीतिक मुद्दामा १६ वर्ष ९ महिना जेल बसेका उनलाई नेपालका नेल्सन मण्डेला भनेर चिनिन्छ । कम्युनिस्ट पार्टीको मेची अञ्चल इञ्चार्ज भएर झापा गएका मोहनचन्द्रले कम्युनिस्ट युवासँग मिलेर २०२८ सालमा झापामा सामन्त सफाया, वर्ग शत्रु सफाया अभियान सञ्चालन गरेका थिए । त्यतिबेला मोहनचन्द्रलाई साथ दिने युवामा अहिलेका अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा मालेका महासचिव सिपी मैनाली पनि थिए ।

बिद्रोहकै क्रममा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईंकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई पञ्चायती सरकारले २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानी जगंलमा हत्या गरेको थियो । ‘जनताको सेवा गर्न कम्युनिष्ट पार्टीमा लागियो । ठीक ढंगले सेवा गरेँ कि गरिन जनतालाई थाहा होला’ मोहनचन्द्र भन्छन् । 

विराटनगरको रानी हुँदै रौतहट जाने क्रममा मोहनचन्द्र केपी ओलीसँगै पक्राउ परेका थिए । मोहनचन्द्रले ती दिन सम्झिँदै भने ‘इनदवाडीमा शिवमंगल तलवार भन्ने प्रधानपञ्च कहाँ ओलीजी बस्नुहुने रैछ त्यहाँ गएर हामीले भात खायौं। म एउटा भूमिहीन किसानकोमा बसेको थिएँ । म बसेको ठाउँमा ओलीजी आउनुभयो। अनि लौ सुज्र्या कमरेडले बोलाएको छ भनेपछि हामी त्यहाँबाट हिँड्यौं, त्यहाँ सुज्र्याको भतिजोले एउटा बोतल ल्याएको थियो त्यो मेरो झोलामा हालिदियो। चौरस्ता पुगेपछि उसले सिधै पुलिसकोमा सुम्पियो। त्यो बोतलमा रक्सीको बोतल रैछ। झोलामा भएका कागजपत्रसहित ओलीजी र मलाई पक्रियो। हामीसँग ‘तुलसीलालको कुल बाटो र पुष्पलालको मूलबाटो’  किताब पनि त्यतिबेला त्यो पुस्तक बन्देज थियो।’


पक्राउ परेपछि ५७ दिन थुनामा बसेका मोहनचन्द्र र केपी ओलीलाई वीरजंग ल्याउने क्रममा तत्कालीन सिडिओ चन्द्रिकानन्द खरेलले गोली हान्न आदेश समेत दिएका थिए। मोहनचन्द्रका अनुसार त्यहाँका सव–इन्स्पेक्टर मोहनप्रसाद अधिकारीले १३ दिने दाजुभाइलाई म गोली ठोक्दिन भनेपछि ज्यान जोगिएको थियो ।


मोहनचन्द्रलाई विभिन्न जेल सरुवा गर्दै साढे २ वर्ष केन्द्रीय कारगारको गोलघरमा समेत राखिएको थियो । राजनीतिक मुद्दामा जेल परेका मोहनचन्द्रलाई ज्यानमारा मुद्दामा २० वर्ष जेल चलान गरिएको थियो। मोहनचन्द्रले १६ वर्ष ९ महिना जेलजीवनमा तराईका पाँच र पहाडका पाँच वटा जेलमा बसेका थिए । 

३६ वर्षमा जेल परेका मोहनचन्द्र भद्रगोल जेलबाट निस्कँदा ५२ वर्षका थिए । जेल पर्नुभन्दा अगाडि बिहेका बारेमा खासै नसोचेका उनले जेलबाट छुटेपछि २०४७ सालमा पाल्पाकी बालकुमारी खनालसँग बिहे गरे । उनका दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्