काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा र मधेशकेन्द्रित जनता समाजवादी पार्टी जसपानेपालबीच तालमेल हुने लगभग निश्चित भएको छ।

कांग्रेस र एमालेले समान ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट पाउने गरी तालमेलको तयारी अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । तालमेल वार्तामा सहभागी लेखकले भने, “कांग्रेस-एमालेलाई ७-७, नेकपालाई ३ र जसपालाई १ सिट दिने गरी सहमति लगभग टुंगिएको छ । संख्यामा सहमति भए पनि क्लस्टर निर्धारण बाँकी छ ।”
उनका अनुसार साँझसम्म सबै विषय टुंग्याउने तयारी छ । तर सिट संख्यामा नेकपा र जसपा नेपालले पूर्ण रूपमा चित्त नबुझाएको अवस्था रहेको उनले बताए ।
कांग्रेसले सुरुमा ८ सिट मागे पनि पछि ७ सिटमा सहमति जनाएकाले नेकपालाई पनि त्यहीअनुसार चित्त बुझाउन नेताहरूले प्रयास गरिरहेका छन् । नेकपाले ४ सिट र जसपा नेपालले २ सिट मागिरहेको लेखकले जानकारी दिए ।
राष्ट्रिय सभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ताको समय तोकेको छ ।












