काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गठबन्धनबाट नडराएको बताएका छन् ।

मङ्गलवार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले रवि र बालेनसँग आफूहरू नडराएको बताएका हुन् ।
उनले भने, ‘उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ । उहाँहरूसँग हामी किन डराउने ? छैन, मलाई केही पनि डर छैन ।’
उनले रविलाई विगतमा आफूले अत्यन्त अप्ठ्यारो अवस्थामा साथ दिएको पनि स्मरण गराउँदै भने, ‘रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्ड गर्दै आएको हो । मैले उनलाई अप्ठ्यारोमा साथ दिएको हो । मेरै सरकारमा मैले दुई-दुई पटक उनलाई गृहमन्त्री पनि बनाएको हो ।’
प्रचण्डले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा तीनवटा सदस्य लिने सहमति नभएको बताए । उनले भने, ‘कहीँ कतै सहमति भएको छैन । राष्ट्रियसभामा जसको मतभार जति छ, त्यहीअनुसार सिट पाउने अधिकार हो । हामीसँग कुनै सहमति भइसकेको छैन । हामीले तीन सिट लिने कुराको टुङ्गो भएको छैन ।’












