
काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ । जसमा एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो ।
रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले सांसद मनोनित गर्नेछन् ।
कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।
भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ । यता कार्यकाल सकिन लागेका सांसदमा कांग्रेसका भने एकजना पनि छैनन् ।
सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ । राष्ट्रियसभाका ५९ मध्ये १८ सदस्यका लागि मात्रै निर्वाचन हुन लागेको हो ।
त्यसका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । कांग्रेस, एमाले, नेकपा, जसपासहितका दलले सिट बाँडफाँट गरेर १८ सिटमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।












